लकडाउनका कारण च्याउ किसान मर्कामा

दमक, ४ वैशाख : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी ( लकडाउन) का कारण झापाका च्याउ किसान मर्कामा परेका छन् ।

लाखौं रुपैयाँको लगानीमा गरिएको खेतीबाट उत्पादन भएका च्याउ लकडाउनका कारण स्थानीय र वाह्य बजारसम्म पुर्याउन नसक्दा उनीहरु मर्कामा परेका हुन् ।

च्याउ उत्पादक किसान सङ्घ झापाका संयोजक ज्ञानेन्द्र प्रसाद गौतम (कविराज )ले लामो समयसम्म भएका लकडाउनका कारण उत्पादित च्याउ बजारसम्म पुर्याउन नसक्दा यहाँका दर्जनौ च्याउ किसान मर्कामा परेको बताउनुभयो । किसानले उत्पादन गरेका च्याउ उपभोक्तासम्म पुर्याउन नसक्दा खेतबारीमै कुहिने अवस्थामा पुगेको उहाँको गुनासो छ ।

जिल्लाको दमक, शिवसताक्षी, कमल, गौरादह, विर्तामोड, कन्काईलगायतका पालिकाहरुमा च्याउको व्यवसायिक खेती हुँदै आएको छ । यस क्षेत्रमा मात्रै दर्जनौं परिवार च्याउ व्यवसायमा आवद्ध छन् । यस्तै, उक्त व्यवसायमा करिब चार हजार मजदूर र व्यवसायी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका छन् । सरकारले कृषिमा आत्मनिर्भर कार्यक्रम शुरु गरेपछि जिल्लामा वार्षिक रु पाँच मूल्य बराबरको च्याउको कारोबार हुँदै आएको बताइएको छ ।

जिल्लाका किसानले उत्पादन गरेका च्याउ स्थानीय हाटवजारसम्म पुग्दै आएको गौरादह—९ स्थित पुष्पा च्याउ उद्योगका सञ्चालक समेत रहनुभएका सङघका जिल्ला संयोजक गौतमले वताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि लकडाउन जारी रहेका कारण जिल्लामा च्याउको बजार नराम्ररी प्रभावित बन्न पुगेको छ ।” उत्पादित च्याउ बजारसम्म बिक्री गर्न नपाउँदा धेरै किसानको विल्लीवाठ हुने अवस्थामा आएको उहाँको भनाइ छ ।

दमक नगरपालिका—२ मा च्याउ उद्यमी प्रकाश जवेगुले एक दिन टिपेपछि केहि दिन कुर्नुपर्ने खेती भएपनि सजिलो हुने थियो तर आज टिप्यो भोली उत्ती नै उत्पादन हुने भएकाले आफूले च्याउ स्थानीय रुपमा नै बेच्न बाध्य भएको बताउनुभयो । “झापामा च्याउको बजार विस्तार हुँदै गएका बेला लकडाउनका कारण च्याउ किसान मर्कामा परेका छन्”, उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेका च्याउ बजारसम्म पुर्याउने वातावरण सरकार बनाइदिनुपर्छ ।”

सरकारले कृषि उत्पादनमा अनुदान र बजारीकरणमा सहयोग कार्यक्रम शुरु गरेपछि च्याउ खेतीमा किसानको आकर्षण बढेको उल्लेख गर्दै राजगढका अगुवा च्याउ उद्यमी देव कुमार शाहले च्याउको बजारीकणमा अझै समस्या देखिएको वताउनुभयो ।

झापामा डल्ले, कन्ये जातका च्याउ बढी उत्पादन हुने गरेको छ । यहाँ सरदर दैनिक ४ देखि ५ सय केजी च्याउको खपत हुँदै आएको बताइएको छ । तर लामो समयसम्मको लकडाउनका कारण उत्पादित च्याउ बजारसम्म पुग्न सकेको छैन् । यसले यहाँका च्याउ किसान मर्कामा परेका छन् ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वर्षेनी सरदर एक हजार ८ सय मेट्रिक टन च्याउ उत्पादन हुँदै आएको छ । च्याउ उत्पादक किसान सङ्घ झापाले सुरक्षित रुपमा च्याउ बिक्री गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । —यज्ञराज आङदेम्बे(रासस)