रड प्रहार गरी छोराले गरे बुवाको हत्या

धनुषा, ८ वैशाख : धनुषामा गएराति छोराले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेको छ । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनी सदाले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको टाउकामा रड प्रहार गरी छोराले हत्या गरिएको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नथुनीले बुवासँग पैसा मागेको र बुवाले पैसा नदिएपछि दुबै जनाबीच विवाद भएर झगडा भएको थियो । सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

हत्या गरी फरार रहेका नथुनीलाई आज बिहान इलाका प्रहरी कार्यालय यदुकूहाको टोलीले पक्राउ गरेको छ । नथुनीलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।(रासस)