पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याउने सरकारको तयारी


काठमाडौं, वैशाख ८ : सरकारले राजनीतिक दल विभाजनको प्रावधान खुकुलो बनाउने गरी राजनीतिक दल सम्बन्धी विद्यमान कानून संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए। विद्यमान कानूनमा राजनीतिक दल विभाजनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ। 

अहिले जारी गर्न लागिएको व्यवस्थामा केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत नपुर्‍याए पनि हुने प्रावधान राखिएको छ । संसोधन गर्न लागिएको अध्यादेशमा ‘र’ को सट्टा ‘वा’ राखिएको छ ।

यसको अर्थ केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुर्‍याए नयाँ दल दर्ता गर्न बाटो खुला हुनेछ ।

स्रोतका अनुसार सरकारले उक्त प्रावधानलाई संसदीय दलमा ४० प्रतिशत भए दल विभाजन हुन सक्ने भन्ने गरी संशोधन गर्ने तयारी छ। मन्त्रिपरिषद् बैठकमा राजनीतिक दल सम्बन्धी कानूनमा के-के संशोधन गर्ने भन्ने विषयमा बुँदागत छलफल भने नभएको ति मन्त्रीले बताए।