नयाँ अध्ययनको निष्कर्ष : गर्मीले सुस्ताउँदैन कोरोना भाइरस

कोभिड १९ भाइरसलाई गर्मीले कुनै असर नगर्ने र सामाजिक दूरी कायम राख्नु नै उत्तम उपाय भएको हार्वर्डका अनुसन्धाताले बताएका छन्। यसो गरे गम्भीर बिरामी नहुने र अस्पतालको चाप पनि नबढ्ने उनीहरूको भनाइ छ।

हार्वर्डका अनुसन्धाताको अध्ययन निष्कर्ष साइन्स जर्नलमा प्रकाशन गरिएको छ। उनीहरूले सार्स कोभ २ भाइरस परिवारकै नजिकको प्रजातिलाई लिएर अनुसन्धान गरेका हुन्। एचकोभ ओसी-४३ र एचकोभ एचकेयु-१ नियमित रूपमा घुमिरहन्छन्। यसले रूघाखोकी लाग्ने गर्छ। यी भाइरस प्रयोग गरेर अनुसन्धाताले मौसमी प्रभाव, सामाजिक दूरीको प्रभाव र रोग निम्त्याउने भाइरसको भावी भूमिका अध्ययन गरे। 

खोप वा उपचार विधि विकास भए परिणाममा कस्तो प्रभाव पर्ला भनेर अध्ययन नगरिएको अनुसन्धाताले बताए। दुवैको सम्भावना अहिले न्यून छ। अनुसन्धानमा न्यानो मौसमले भाइरसको प्रसार नरोक्ने देखिएको छ। रूघाखोकी लागे ठूलो जनसंख्या बिरामी हुन्छ र बसन्त ऋतुसम्म प्रतिरोधी क्षमता विकास भइसक्छ।

तर सार्स कोभ २ ले धेरै जनसंख्या अझै जोखिममा हुने र भाइरस फैलिने क्रम नरोकिने अनुसन्धाताले बताएका छन्। गर्मी महिनामा प्रसार रोकिए पनि यो क्रम रोकिने छैन। “यो रहन्छ। कुनै हस्तक्षेप नगरिए गर्मीमा भाइरस हराएर जाँदैन,” अध्ययन प्रतिवेदनका एक लेखक र इपिडेमियोलोजीका प्राध्यापक मार्क लिपसिचले भने। 

नयाँ कोरोना भाइरसको सन्दर्भमा संक्रमण भएपछि कति समयमा रोग प्रतिरोधी क्षमता विकास हुन्छ थाहा छैन। रूघा लागेको बेला विकसित हुने अल्पकालीन प्रतिरोधी क्षमता एक वर्षभन्दा कम समय रहन्छ। महाव्याधिको प्रारम्भिक उत्कर्षपछि कोभिड १९ को वार्षिक महामारी हुनसक्छ। अर्कोतिर स्थायी प्रतिरोधात्मक क्षमताले प्रारम्भिक उत्कर्षपछि पाँच वा धेरै वर्षसम्म भाइरसको प्रसार उन्मूलन गर्नेछ।

स्वास्थ्य स्याहार प्रणालीले थेग्न सक्ने गरी बिरामीको संख्या घटाउनलाई अनुसन्धाताले सामाजिक दूरीको एक र एकभन्दा बढी श्रृङ्खलाको प्रभाव पनि मूल्याङ्कन गरेका छन्। सामाजिक दूरीको अवधि श्रृङ्खलात्मक रूपमा लागू गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको स्टिफन किसलरले बताए।

किसलर र क्रिस्टिन टेडियान्तोले अनुसन्धानको नेतृत्व गरेका छन्। साथै परीक्षणलाई प्रभावकारी बनाए रोग बल्झिने क्रम पनि अनुसन्धान हुने उनले बताए। स्वास्थ्य प्रणालीमा चाप बढ्नु अघि नै उपयुक्त उपाय लागू गर्न सहज हुने उनको तर्क छ। यस्तो अवस्थामा मृत्यु घट्ने मात्रै नभएर जनसंख्याले भाइरसविरूद्ध प्रतिरोधात्मक क्षमता पनि विस्तारै विकास गर्ने अनुसन्धाताले बताए।

विश्व स्वास्थ्यका के. टि. ली प्राध्यापक अनिश झाले अहिलेको सामाजिक दूरी हटाउन सकिने अवस्था’bout छलफल गरेका छन्। प्राध्यापक झा हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिट्युटका निर्देशक पनि हुन्। अमेरिकी व्यवसाय र सार्वजनिक स्वास्थ्यबीच अन्तरविरोध देख्नेहरू गलत भएको उनले बताए। वास्तवमा नयाँ सामान्य जे होला, सहज संक्रमण व्यवस्थापन गर्न दुवैलाई एक अर्काको आवश्यक भए उनी बताउँछन्।

अर्थतन्त्र जोगाउनलाई समाज हतार हतार खोल्ने वा ज्यान बचाउनलाई ढिलाइ गर्नुपर्ने गर वा मरको परिस्थितिको रूपमा यसलाई हेर्न नहुने झाले बताए। समयभन्दा चाँडै खोले, रोगको नयाँ लहर आउनसक्छ। धेरै मानसिहरू बिरामी पर्न सक्छन्। बिरामी नभएकाहरू डराउने छन्। घरभित्रै बसेपछि आर्थिक वृद्धि कमै हुनेछ। त्यसको साटो व्यवसाय र सार्वजनिक स्वास्थ्यका विशेषज्ञले परीक्षण, उपचार, खोप र उपकरणको विकास, उत्पादन र वितरणमका लागि सहकार्य गर्नुपर्ने झाले बताए। यसले महामारी नियन्त्रण र अर्थतन्त्र सुरक्षित रूपमा सुचारू गर्न सहयोग पुग्नेछ।

“सार्वजनिक स्वास्थ्य र व्यवसायबीच सहकार्य र समन्वय नै यसबाट उम्किने बाटो हो,” झाले भने,“विभाजित भए सबै हार्नेछौं। ज्यान गुमाउनेको संख्या भयावह छ र अर्थतन्त्र पनि डामाडोल छ।” सामाजिक दूरी हटाउनुअघि दुई सातासम्म नयाँ संक्रमण घट्नुपर्ने र र्याप्त परीक्षण हुनुपर्ने झाले बताए। अहिलेको परीक्षण दरको तुलनामा राष्ट्रियस्तरमा दैनिक पाँच लाखको परीक्षण हुनुपर्ने उनको भनाइ छ। यसबाहेक स्वास्थ्य स्याहार प्रणाली अभिवृद्धि गर्नुका साथै थकित चिकित्सक र नर्सलाई विश्राम पनि दिनुपर्ने उनले बताए।

बेसबल खेलजस्ता ठूला भेला गर्न अझै पर्खनुपर्ने झाले बताए। सुरक्षित दूरी कायम राखे रेस्टुरेन्ट, बार र कार्यस्थल खोल्न सकिने उनी बताउँछन्। सीमित मात्रामा कलेज पनि आउने गर्मीदेखि खुल्ने उनले पूर्वानुमान गरेका छन्। 

उडानअघि भाइरसको स्वचालित परीक्षण र फर्किएपछि सेल्फ क्वारेन्टिनको अवधि तोकिए हवाइ यात्रा पनि खुल्नसक्ने उनी बताउँछन्। “खोप नआएसम्म स्थिति सामान्य हुने छैन। मेरो विचारमा यसका लागि १२ देखि १८ महिना पक्कै लाग्छ,” झाले भने।
द हार्वर्ड ग्याजेट /काठमाडौँ प्रेस