‘लकडाउन’ मा महिला हिंसा


‘लकडाउन’ को अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) मा ८३ वटा घटना दर्ता भएका छन् । ओरेकले सञ्चालन गरिरहेको तीन हटलाइन र २८ जना मनोपरामर्शदातामार्फत यी घटना दर्ता हुन आएका हुन् ।

महिला हिंसाका घटनामा ४६ वटा घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४ बलात्कार र दुई बलात्कारको प्रयास रहेका छन् । यो अवधिमा एउटा हत्या, एउटा हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको र दुई यौन दुव्र्यवहारका घटना, छ आत्महत्या र दुई हत्याको प्रयासका घटना रहेका छन् ।

सामान्य अवस्थामा जस्तै पीडक परिवारकै सदस्य बढी भएको पाइएको छ । हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ३७ जना श्रीमान् र १७ जना परिवारका सदस्य रहेको पाइएको छ । त्यस्तै, १९ वटा घटनामा छिमेकी, दुई प्रेमी ठानिएका व्यक्ति, एउटा घटनामा साथी र एक घटनामा घरमालिक रहेको पाइएको छ । यीमध्ये छ घटनामा पीडकको पहिचान हुन बाँकी रहेको ओरेकले जनाएको छ । बलात्कारका घटना भने १० वटा छिमकीबाट एक बुबाबाट, एउटा परिवारको सदस्यबाट, एक प्रेमी ठानिएका व्यक्तिबाट र एउटा पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ ।

विश्वभरि फैलिएको यो महामारीको समयमा पनि महिला तथा बालिकामाथि हुने वा हुन सक्ने हिंसालाई उचित किसिमले सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको ओरेकले बताएको छ । यस समयमा महिला र बालिकामा थप जोखिम देखिएको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताउनुभयो । महिलामाथि हुने हिंसा रोकथामका लागि केही स्थानीय तहले सुरक्षित आवास शुरु गरिसकेका छन् । अरु स्थानीय तहले पनि हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहज रुपमा उजुरी गर्ने वातावरण तयार गर्नुपर्नेमा उहाँको जोड छ ।- रासस