आज बस्ने नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गम्भीर सन्देश दिने

 काठमाडौं । सत्तारुढ दल नेकपाको सत्ता संघर्ष उत्कर्षमा पुगेपछि आज सचिवालय बैठक बस्ने  भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याउने अभियानमा लागेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालसँग भएको वार्ता असफल भएपछि सचिवालय बस्दैछ । दाहाल र नेपालसँग विभिन्न शर्तहरुमा छलफल गरेकामा उनीहरु टसमस नभएपछि औपचारिक छलफल गर्न वाध्य भएका प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा निर्णायक धारणा राख्ने सम्भावना रहेको बताईएको छ ।

सर्बोच्च अदालतले गत आईतबार द्वन्दकालीन मुद्दा सम्बन्धमा सरकारको पुनरावलोकन निवेदन खारेज गरिदिएपछि तनावमा परेका दाहालले  प्रधानमन्त्री ओलीसँग त्यसमै केन्द्रित भएर पनि छलफल गरेको बताईएको छ । त्यस बिषयमा मुद्दा चलाउन आवश्यक कानुन संशोधन गर्न सर्बोच्चको आदेश अनुसार सरकार अगाडि बढ्नासाथ उजुरी परेका नेता लगायतले सम्बन्धित अदालतहरुमा उपस्थित भै मुद्दाको सामना गर्नु पर्ने छ । यो बिषयले पनि नेकपाको आन्तरिक विवादमा इन्धन थपेको थाहा भएको छ ।

नेकपाका शीर्ष नेताहरु नै स्पष्ट दुइ समुहमा बिभाजित भएर रणनीति बनाउन थालेपछि सरकारको नेतृत्व र निरन्तरताका बिषयमा समेत चर्चा हुन थालेको छ । बलियो बहुमत रहेको पार्टीभित्र देखिएको पछिल्लो परिस्थितिले सरकार नै ढल्ने हो कि भन्नेसम्मको टिकाटिप्पणी हुन थालेको छ ।

आज यो विवादमा औपचारिक छलफल हुने अपेक्षा गरिएको छ । नेकपाको सचिवालय बैठक आज साँझ ५ बजे बस्ने भएको छ । बालुवाटारमा बस्ने बैठकका लागि कुनै औपचारिक एजेण्डा तय नभए पनि अहिले देखिएका असन्तुष्टि नै छलफलको केन्द्रीय बिषय हुने अनुमान गरिएको छ ।

गत साता सरकारले आकस्मिक रुपमा संवैधानिक परिषद् र  राजनीतिक दल सम्बन्धी विधेयक जारी गरेपछि सत्तारुढ दल विवामा परेको हो । त्यो विवाद लम्बिदैजाँदा प्रधानमन्त्रीलाई सरकारको नेतृत्व छाड्न समेत दवाव दिन सुरु भएको हो । पछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएपछि नेकपाका २० स्थायी कमिटी सदस्यले पार्टी अध्यक्षद्वयलाई पत्र लेखी तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । स्थायी कमिटी बैठक’bout कुनै निर्णय गरिएको छैन ।

आज बस्ने सचिवाल बैठकमा प्रधानमन्त्री ओलीले निर्णायक ढंगले आफ्नो धारणा राख्ने सम्भावना रहेको एक सचिवालय सदस्यले सरल पत्रिकासँग बताए । प्रधानमन्त्री ओली अहिलेकै अवस्थामा पदबाट हटिहाल्ने अपेक्षा नगरेपनि हुने भन्दै ती सदस्यले ओलीले प्रधानमन्त्री पदबाट हट्ने निर्णय गरिहालेमा उत्पन्न हुने राजनीतिक अस्थिरतालाई सम्हाल्न सक्ने क्षमता र विश्वसनीयता भएका नेता नभएको दावी गरे ।सरलपत्रिका