पाल्पा–१ बाट बामदेव गौतमलाई निर्वाचन लडाउने सहमति !

काठमाडौं बैशाख, २० : नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई पाल्पा–१ बाट प्रतिनिधिसभाको निर्वाचन लडाउने सहमति जुटेको छ। 

शनिवार साँझ बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपर्युक्त समयमा प्रतिनिधीसभाबाट निर्वाचित गराउने निर्णय गरेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको उम्मेदवार बनाएर ल्याउने निर्णय भएको बताए। 

बैशाख पहिलो साता सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल समुहले प्रधानमन्त्री ओलीको विकल्प खोज्ने तयारी गरेको थियो। प्रचण्ड–नेपालको तयारीमा गौतमले समेत साथ दिएका थिए। तर, महासचिव विष्णु पौडेलले पाल्पा–१ मा निर्वाचन लडाएर प्रतिनिधिसभामा ल्याउने बचन दिएपछि गौतम ओलीको पक्षमा उभिएका छन्। 

पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद दलबहादुर रानालाई राजिनामा गराएर गौतमलाई लडाउने सहमति महासचिव पौडेलले गराएको स्रोतको दावी छ।

गत बुधबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले आफुले पदत्याग गर्नुपरेको अवस्थामा गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए। तर, प्रतिनिधीसभाको सांसद नरहेको र राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण ओलीको प्रस्ताव अनुसार गौतम प्रधानमन्त्री बन्न पाउने अवस्था थिएन्। प्रतिनिधीसभाको निर्वाचन हारेको व्यक्ति मन्त्री समेत हुन नपाउने संवैधानिक व्यवस्था छ। तर, शनिवार ओलीले गौतमसँग गरेको छुट्टै भेटवार्तामा उपप्रधानमन्त्री बनाउने बचन दिएका छन्। त्यसका लागि समेत गौतम सांसद हुन आवश्यक छ। 

यसअघि पनि गौतमले पटक–पटक निर्वाचन लडेर प्रनिनिधीसभामा आउने प्रयास गरेका छन्। ०७४ सालमा भएको प्रतिनिधीसभाको निर्वाचनमा बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग उनी पराजित बनेका थिए। तर, २०७५ भदौ यता उनले निर्वाचन क्षेत्र खाली गराएर सांसद हुने इच्छा व्यक्त गर्दै आएका छन्। ०७५ भदौमा उनले डोल्पाका सांसद धनबहादुर बुढालाई फिर्ता बोलाएर निर्वाचन लड्ने इच्छा व्यक्त गरेका थिए। तर, उनको योजना सफल हुन सकेको थिएन। त्यसको १ महिना पछि काठमाडौं–७ खाली गराएर निर्वाचन लड्ने योजना बामदेवको थियो। काठमाडौं–७ का सांसद रामविर मानन्धरले सार्वजनिकरुपमै बामदेवका लागि राजिनामा दिन तयार रहेको बताएका थिए। तर, नागरिक स्तरमा तिव्र ओलोना भएपछि बामदेवको योजनामा ब्रेक लागेको थियो।  

गत मंसिरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट समेत उनले निर्वाचन लड्ने इच्छा व्यक्त गरेका थिए। तर, उनले अन्तिम समयमा नलड्ने घोषणा गरेका थिए। कास्की–२ मा स्वर्गिय रविन्द्र अधिकारी पत्नी विद्या भट्टराई विजयी भएकी थिइन्। राष्ट्रियसभा निर्वाचनमा भने प्रधानमन्त्री हुन नपाइने भन्दै उनले उम्मेदवार हुन मानेका थिएनन्।काठमाडौँ प्रेस