संसारभर कोरोनाले ७३ नेपालीको मृत्यु

काठमाडौं, वैशाख २१ : काेराेना भाइरसकाे महामारीबाट संसारभर ७३ जना नेपालीकाे मृत्यु भएकाे जनाएकाे छ। त्यस्त पाँच हजारभन्दा बढी नेलाली संक्रमित भएकाे तथ्या‌ंक सार्वजनिक गरिएकाे छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)काे स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार काेराेनाबाट ७३ जना नेपालीकाे मृत्यु भएकाे छ। सबैभन्दा बढी बेलायतमा ४९ जनाकाे मृत्यु भएकाे छ। एनआरएएका अनुसार, बेलायतको ग्रेटर लन्डनमा २७,  मिडल्यान्डमा आठ, साउथ इस्टमा ११ र  साउथ वेस्टमा तीन जनाको मृत्यु भएको छ।

त्यस्तै अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको एनआरएनएले जनाएकाे छ।

समितिका संयोजक डा.सञ्जीव सापकोटाले युएइमा पाँच तथा आयरल्यान्ड, जापान, टर्की र नेदरल्यान्ड्समा एक-एक जनाको काेराेनाबाट मृत्यु भएकाे बताए।

उनका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार दुई सय ४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन्। उनीहरुमध्ये एक हजार पाँच सय ७० जना निकाे भएका छन्।

मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको जनाएकाे छ। त्यहाँ दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक भएकाे छ।

अहिलेसम्म संसारका २७ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित छन्। मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार,  बहराइनमा एक सय २६, युएईमा एक सय, कुवेतमा ७८, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्यान्डमा २२, स्पेनमा १२, अस्ट्रेलियामा १०, बेल्जियम र  जापानमा ६–६, स्वीडरल्यान्ड र क्यानडामा पाँच-पाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीन-तीन, माल्दिभ्स, माल्टा र  हङ्गकङ्गमा दुई-दुई तथा म्यानमा र फ्रान्समा एक-एक संक्रमित भएका छन्।

कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा.हेमराज शर्माले बताए। उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ।  

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ।