कोरोना भाइरसको उपचारपछि निको भएका युवक फेरि आइसोलेसनमा

वीरगञ्ज, वैशाख २१ : कोरोना भाइरसको उपचारपछि निको भएर घर गएका रौतहटका युवकलाई फेरि आइसोलेसनमा राखिएको छ। उनलाई घरबाट ल्याएर फेरि आइसोलेसनमा राखिएको हो।
रौतहटको इशानाथ नगरपालिका-८ का १९ वर्षीय बच्चा अन्सारीलाई वैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनको नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म उपचार गरिएको थियो।
उनको तेस्रो, चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि वैशाख १४ गते अस्पतालले डिस्जार्च गरेको थियो। उनी निको भएर घर गएका थिए।
अस्पतालले घर पठाएको एक सातापछि शनिबार राति फेरि अस्पताल ल्याइएको हो। रौतहटस्थित घरबाटै उनलाई अस्पताल ल्याइएको आफन्तजनले बताएका छन्।
बुधबार नारायणी अस्पतालबाट तीन जना स्वास्थ्यकर्मी उनको घर पुगेका थिए। उनीहरुले बच्चाको खकार, सिगान र रगतको नमुना संकलन गरेका थिए।
शनिबार राति एम्बुलेन्समा राखेर आफूलाई अस्पताल ल्याइएको उनले बताए। चिकित्सकले शंका लागेकाले ल्याएको भन्ने जवाफ दिएको उनले बताएका छन्।
बुधबार स्वास्थ्यकर्मीले संकलन गरेको नमुना काठमाडौंस्थित राष्ट्रयि जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। उनमा फेरि कोरोना देखिएकाले ल्याएको अस्पताल स्रोतले जनाएको छ।
उनीसँगै घर पठाएका अन्य चार जनाको पनि अस्पतालले स्वाब संकलन गरेको छ। परीक्षणका लागि काठमाडौं पठाएको जनाएको छ।काठमाडौँ प्रेस