एकैदिन बाँकेमा १५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, वैशाख २१ : बाँकेमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
आइतबार साँझ गरिएको परीक्षणमा थप ६ जनामा कोरोनाको संक्रमण भेटिएपछि बाँकेमा कोरोना संक्रमितको संख्या एकैदिन १५ पुगेको हो।
यसअघि दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। योसँगै आइतबारमात्रै बाँकेमा १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ ।
उनको कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीसआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्।