६ जना संक्रमित कोशी अस्पतालबाट डिस्चार्ज भए
विराटनगर, वैशाख २४ : कोरोना भाइरसको उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन्। उनीहरुलाई आज बिहान कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ।
भारतको दिल्लीका वासिन्दा १९ दिनदेखि उपचार गराइरहेका थिए। उनीहरुलाई बुधबार बिहान प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विदाइ गरेका छन्।
अस्पतालबाट डिस्चार्ज भएपनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। विराटनगर १५ स्थित रानी मरकजमा बनाएको क्वारेन्टाइनमा राखिएको जनाएको छ। कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने बताइन्।
उनीहरुले अस्पताल बसाइ राम्रो भएको बताएका छन्। चिकित्सकलगायत स्वास्थ्यकर्मीको व्यवहारले हौसला मिलेको अनुस जैदीले बताए। उनले सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिए।
१९ दिन अघि १३ जनामा कोरोना देखिएको थियो। अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेका उनीहरुको तीन पटक थ्रोट स्वाब परीक्षण गरिएको थियो। जसमा ६ जनाको तीनै पटक नेगेटिभ आएको डा.मिश्रले बताइन्।
अन्य सात जनालाई भने थप उपचार गरिने भएको छ। उनीहरुमा पोजिटिभ आएको अस्पतालले जनाएको छ।
वैशाख ५ गते परीक्षण गर्दा उदयपुरको भुल्केस्थित नुरी मस्जिदबाट १२ जना भारतीय नागरिक र चार विराटनगरबासीमध्ये १३ जनामा कोरोना देखिएको थियो। त्यही दिनदेखि उनीहरुलाई अस्पतालमा लिएर उपचार गर्न थालिएको थियो।
कोशी अस्पतालमा अहिलेसम्म राखिएका २१ जनामध्इे ६ जना डिस्चार्ज भएका छन भने अन्यको उपचार भइरहेको छ।