नेपालमा थप सात जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं, वैशाख २७ :  नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप सात जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार उदयपुरमा तीन महिला, कपिलवस्तुका तीन र पर्साका एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।  कोशी अस्पतालमा गरिएको परीक्षणमा उदयपुरको भुल्केका १८, २४ र ६५ वर्षीया महिलाहरुमा कोरोनाको संक्रमण पुष्टि भएको अधिकारीले बताए। 

यस्तै, जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुका १७  र १८ वषीय दुई जना गरी तीन पुरुष तथा पर्सा छपकैया निवासी ६२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको सहप्रवक्ता अधिकारीले बताए। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको अधिकारीले बताए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १०९ पुगेको छ। – काठमाडौँ प्रेस