चीन र दक्षिण कोरियामा फेरि बढ्दै कोरोना

काठमाडौं, वैशाख २८ : चीन र दक्षिण कोरियामा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। केही दिनयता संक्रमितको संख्या बढिरहेको जनाएको छ।
केही साता अघि चीनमा शून्यमा झरेको नयाँ संक्रमण फेरि बढेको हो। आइतबार १४ जना नयाँ संक्रमित भेटिएका छन्। दश दिन यता पहिलो पटक दोहोरो अंकमा संक्रमित भेटिएका हुन्।
चिनीयाँ मिडियाका अनुसार, आइतबार भेटिएका १४ संक्रमितमा १२ जनामा स्थानीय संक्रमण देखिएको हो। उनीहरुमा चीनकै संक्रमितबाट कोरोना सरेको जनाएको छ। अन्य दुई जना भने विदेशबाट आएका व्यक्ति रहेका छन्।
स्थानीय संक्रमण देखिएका ११ जना उत्तरपूर्वि प्रान्त जिलिनका रहेका छन्। एक जना भने हुवाइ प्रान्तकै छन्। जहाँको वुहान शहरबाट कोरोना संक्रमण सुरु भएको थियो।
अहिलेसम्म चीनमा संक्रमितको संख्या ८२ हजार नौ सय एक पुगेको छ। जसमा चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ। अहिलेसम्म ७८ हजार एक सय २० जना निको भएका छन भने एक सय ४८ जनाको उपचार चलिरहेको छ।
त्यस्तै, दक्षिण कोरियामा पनि फेरि संक्रमण देखिन थालेको हो। गत २४ घन्टामा ३४ जना नयाँ संक्रमित भेटिएका छन्। यो कोरियामा एकै दिन देखिएको सबैभन्दा बढी संख्या हो। अहिलेसम्म कोरियामा एकै दिन ३० भन्दा बढी संक्रमित देखिएका थिएनन्।
कोरियाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्सनका अनुसार, ३४ जनामा २६ जनामा स्थानीय संक्रमण देखिएको हो। उनीहरुमा कोरियामै रहेका संक्रमितबाट कोरोना सरेको जनाएको छ।
नयाँ संक्रमितमा धेरैजसो केही दिनयता मात्रै सरेको पाइएको छ। जुन नाइटक्लबमा गएका व्यक्तिहरुको रहेको जनाएको छ।
दक्षिण कोरियामा अहिलेसम्म १० हजार आठ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये दुई सय ५६ जनाको मृत्यु भएको छ।
अहिलेसम्म दक्षिण कोरियामा नौ हजार ६ सय १० जना निको भइसकेका छन्। एक हजार आठ जनाको उपचार भइरहेको र त्यसमध्ये ५५ जना गम्भीर रहेको जनाएको छ।