कपिलवस्तुका १० जना कोरोना संक्रमित भारतबाट लुकेर आएका थिए

काठमाडौं, वैशाख २९ : कपिलवस्तुका १० जना कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। उनीहरु केही दिन अघि भारतबाट लुकेर खाएको खुलेको छ।

लकडाउन लम्बिँदै जादा भारतमा नेपाली अलपत्र पर्न थालेका छन्। सीमा नाकामा कडाइ गरेपछि उनीहरु लुकेर घर फर्किन थालेका हुन्। कपिलवस्तुमा संक्रमण देखिएका १० जना पनि लुकेर नै नेपाल आएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली बताए।

उनका अनुसार, भारतबाट आएका उनीहरुलाई स्थानीय सरकारले क्वारेन्टाइनमा राखेको थियो। अहिले कपिलवस्तुमा एक हजार दुई सय ४४ जना क्वारेन्टाइनमा छन्।

कोरोना देखिएका १० जना कपिलवस्तुको मायादेवी र यशोधरा गाउँपालिकाका हुन्। उनीहरु बुद्धभूमिको महेन्द्र मावि र यशोधराको अनिरुद्ध माविमा बनाइएको क्वारेन्टाइनमा रहेका छन्।

दुवै क्वारेन्टाइनमा दुई सय १९ जना छन्। उनीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। त्यसमध्ये ९९ जनाको रिपोर्ट आएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी नेपालीका अनुसार, रिपोर्ट आएका ९९ जनामध्ये १० जनामा कोरोना देखिएको हो। अन्य ८९ जनामा भने कोरोना देखिएको छैन।

कोरोना देखिएका १० जनामा यशोधरा गाउँपालिका५ का आठ जना र बुद्धभूमि गाउँपालिका७ का दुई जनामा रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, उनीहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुष रहेका छन्।

अझै एक सय ९१ जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरुको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो। आज या भोलिसम्म अरुको पनि रिपोर्ट आउने प्रयोगशालाले जनाएको छ।

कोरोना पुष्टि भएका १० जनालाई बुटवलस्थित कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ। अब उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजि गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सोमबार १० जना थपिएसँग नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ। अहिलेसम्म ३१ जना निको भइसकेका छन्।