जिल्लाभित्र सवारी चलाउने पास खारेज, लकडाउनमा भोलिदेखि थप कडाइ
काठमाडौं, जेठ १ : सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा थप कडाइ गर्ने भएको छ।
बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले काठमाडौं उपत्यका र बाहिरका जिल्लामा कोरोना संक्रमित बढेपछि शुक्रबार (भोलि) देखि लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए।
काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू र प्रहरीसँगको छलफलपछि गृह मन्त्रालयले जिल्लाभित्र लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको उपसचिव अधिकारीले बताए।
उनका अनुसार सवारी सञ्चालनका लागि प्रशासनले उपलब्ध गराएको पास खारेजको निर्णय भने शनिबारबाट लागू हुनेछ।
उनले भने,‘सवारी सञ्चालनमा थप कडाइ गरिनेछ। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकामा पनि थप सजकता उपनाउँदै चेकजाँचमा कडा गर्ने निर्णय भएको छ,’ उनले भने। काठमाडौंमा उपत्यका बाहिरबाट आएकाहरुमा कोरोनाको संक्रमण पुष्टि भएपछि लकडाउनलाई थप कडा पार्ने निर्णयमा सरकार पुगेको हो।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन फितलो भएको भन्दै असन्तुष्टि जनाएका थिए। कोरोना नियन्त्रणका लागि लकडाउन कडाइका साथ लागू गर्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीले थप कडाइ गर्न निर्देशन दिएका थिए।
यसअघि गृह मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्ला जान मिल्ने गरी वितरण गरिएका सबै खाले पास रद्द गर्ने निर्णय गरेको थियो।