धनकुटा र मोरङका थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं, जेठ ४ : नेपालमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

आइतबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

उनका अनुसार संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सम्पर्कमै रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २९५ पुगेको छ।

यसअघि आइतबार बिहान राैतहटको राजपुर नगरपालिका फरहदवा-९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका गरी ६ जना र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका तीन पुरुष गरी १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।  संक्रमितमध्ये २९५ मध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।