कोरोना संक्रमणबाट नेपालमा तेश्रो ब्यक्तिको मृत्यु

काठमाडौं, जेठ ८ : नेपालमा कोरोना भाइरस संक्रमणबाट तेश्रो ब्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिसमन अस्पतालमा उपचार गराईरहेका गुल्मीका ४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। 

एक सातादेखि अस्पतालमा उपचार गराईरहेका उनको आज बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले मृत्यु भएको जानकारी दिए ।  ‘उहाँ क्रिमसन अस्पतालमा आइसियुमा उपचाररत हुनुहुन्थ्यो। उहाँमा कोभिड–१९ पोजेटिभ थियो। आज विहान ७ बजेर १० मिनेटमा निधन भएको छ,’ चौधरीले काठमाडौं प्रेससँग भने।

अस्पतालले पनि निधनभएको स्विकार गरेपनि औपचारिक घोषणा मन्त्रालयले गर्ने जनाएको छ । ‘कोरोनाबाट निधन भएको घोषणा गर्न अस्पतालले नमिल्दो रहेछ। हामीले स्वास्थ्य मन्त्रालयमा जानकारी पठाइसकेका छौं। मन्त्रालयले नै घोषणा गर्छ,’ अस्पतालका प्रवक्ता चन्द्र बस्यालले भने।

स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो । वुधबार एकाएक उनको मृत्यु भएको समाचार बाहिरिएपनि अस्पताल प्रशासनले बिज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो । 

गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए । २ गते उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४५ जना उपचार पश्चात घर फर्केका छन् ।