चार जनाले जिते कोरोनालाई, टेकु अस्पतालबाट घर फर्किए

काठमाडौं, जेठ ८ : काठमाडौंको टेकु अस्पतालबाट कोरोनालाई जितेर चार जना घर फर्किएका छन्। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजिय नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई महिला र दुई पुरुष कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए। 

उनका अनुसार डिस्चार्ज हुनेमा २३ र २५ वर्षीया महिला तथा २७ र २७ वर्षीय पुरुष रहेका छन्। ‘टेकु अस्पतालबाट निको भएर चार जना नवौं दिनमा डिस्चार्ज हुनुभएको छ,’डा. देवकोटाले भने। योसँगै कोरोनालाई जितेर घर फर्किने संक्रमितको संख्या २९ पुगेको छ। 

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४५३ पुगेको छ। तीमध्ये तीन जनाको भने कोरोनाबाट मृत्यु भएको छ।