सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७०० पुग्यो

काठमाडौं, जेठ १३ : सुर्खेतमा मंगलबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ७०० पुगेको छ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार, सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरुमध्ये वीरेन्द्रनगर नगरपालिकाका आठ, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई दुई जना रहेका छन्।

सामाजिक मन्त्रालयका अनुसार वीरेन्द्ररनगर१ का १६ वर्षका एक जना, वडा नं. २ का ९, २०, २२, ३२ र ३६ वर्षका पाँच जना, वडा नं. ३ का ४६ वर्षका एक जना र वडा नं. ६ का २६ वर्षका एक जना रहेका छन्।

यसैगरि, भेरीगंगा नगरपालिका(८ का १६ र १७ वर्षका दुई जना तथा सिम्ता गाउँपालिकाका ४ का ३५ र ४९ वर्षका दुई जना रहेका छन्। उनीहरुमध्ये एक जना महिना र ११ जना पुरुष हुन्।

उनीहरु सबै भारतबाट आएको जनाएको छ। सबै जना क्वारेन्टाइनमा रहेका छन्। क्वारेन्टाइनमा रहेको व्यक्तिहरुको परीक्षण गर्ने क्रममा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

उनीहरु सबैलाई सुर्खेत अस्पतालकाे आइसाेलेसनमा राखिएकाे छ। सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ।