लकडाउनमा माथिल्लो तामाकोशीः तल्लो साफ्टमा सफलता
शब्द/तस्विर : शम्भु गौतम
दोलखा : कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला नेपालले पनि २ महिना भन्दा बढीको बन्दाबन्दी भोगिसकेको छ । तर बन्दाबन्दीको बिचमा पनि राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीलाई भने सफलता मिलेको छ । आयोजनाको सबैभन्दा कठिन मानिएको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम सकिएको छ ।
स्वदेशी लगानीमा निर्माण भैरहेको र निर्माणाधीन आयोजनाहरुमध्ये सबैभन्दा ठुलो यो आयोजनाको काम अब शून्य दशमलव ५ प्रतिशत मात्रै बाँकी छ । २ वटा पेनस्टक पाइपमा अड्किएको ४५६ मेगावाट जडित क्षमताको यो आयोजनाको तल्लो ठाडो सुरुङको पेनस्टक जडानको कार्य सम्पन्न भएपछि आयोजना चाँडो सक्नका लागि केही सहज भएको छ ।
३७३ मिटरको तल्लो ठाडो सुरुङको काम सकिएको भए पनि माथिल्लो ठाडो सुरुङमा पेनस्टक जडान गर्ने कार्य भने बाँकी छ । ३१० मिटरको माथिल्लो ठाडो सुरुङमा अब ५९ मिटर मात्रै पेनस्टक पाइप जडान गर्न बाँकी रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । यससँगै तल्लो र माथिल्लो ठाडो सुरुङको बिचमा रहेको १ सय मिटरको तेर्सो सुरुङमा पनि पेनस्टक पाइप जडान गर्न बाँकी छ । उनका अनुसार बाँकी पेनस्टक पाइप असारको पहिलो सातासम्म जडान भैसक्नेछ ।
आयोजनाको कामको चार लटमध्ये लट नं २ को हाइड्रोमेकानिकल अन्तर्गतको पेनस्टक पाइप समेतको काम भारतीय ठेकेदार टेक्सम्याको रेल्वेइन्जिनियरिङले गर्दै आएको थियो । उसले काममा ढिलाइ गरेपछि लट नं ३ को अष्ट्रियन ठेकेदार एन्ड्रिज हाइड्रोसँग त्रिपक्षीय सम्झौता गरी तल्लो पेनस्टकको काम उसलाई दिइएको थियो । लामो समयको प्रयासपछि लट नं ३ को एन्ड्रिज हाइड्रोले २०७६ असार १ गते पेनस्टक पाइप जडानको कामको सफल सुरुवात गरेको थियो । त्यसैगरी लट नं २ को टेक्सम्याको रेल्वेइन्जिनियरिङले २०७६ असार १० गते सफलतापूर्वक पेनस्टक पाइप राख्ने कामको सुरुवात गरेको थियो । तल्लोे ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २८ टन तौलका पाइपहरु जडान गरिएका छन् भने माथिल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइका १८ टन तौलका पाइपहरु जडान भैरहेका छन् ।
लट नं १ अन्तर्गतको सिभिल कार्य करिब सम्पन्न भैसकेको छ । पिकिङ रन अफ रिभर प्रकृतिको आयोजनाको बाँधमा पानी भरेर सफल परीक्षण गरिसकिएको छ । डिस्याण्डिङ बेसिन लगायतका केही परीक्षण हुन बाँकी रहेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । प्रसारण लाइनको काम पनि अन्तिम चरणमा रहेको छ ।
२०७२ सालअघि नै सुरुङ निर्माणको काम सकिएको भए पनि विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, लामोसाघु–चरिकोट सडक विस्तार आदिका कारण आयोजनाको काममा ढिलाइ भएको थियो । अहिलेको विश्वव्यापी कोरोना कहरका कारण पनि आयोजना ढिलाइ हुने निश्चित भएको छ ।
हुन त कोरोना भाइरसको महामारीले बन्दाबन्दी भएको बेला पनि आयोजनाको काममा खासै असर गरेको छैन । सुरक्षा सजगता अपनाएर र आन्तरिक बन्दाबन्दी समेत गरेर करिब ४ सय जना कामदारबाट कामलाई निरन्तरता दिइएको छ । तर विश्वव्यापी बन्दाबन्दीका कारणले सामान ढुवानी गर्न समस्या भएपछि आयोजना ढिलाइ हुने भएको हो । मुख्य ठाडो सुरुङबाट ६ वटा टर्वाइनमा विभाजन गर्नका लागि आवश्यक पर्ने सामग्री ढुवानी गर्न बाँकी रहेको र बन्दाबन्दीले ढुवानीमा बाधा परेको आयोजनाका प्रवक्ता डा. न्यौपानेले बताए । यो काम पनि जटिलमध्येको मानिन्छ ।
२०६७ भदौ १७ गतेबाट आयोजनाको काम सुरुवात गरिएको थियो । सुरु लागत ३५ अर्व २९ करोड प्रक्षेपण गरिएकोमा विभिन्न कारणले यसको लागत बृद्धि भई करिब ७२ अर्ब पुग्ने अनुमान गरिएको छ । अन्य कुनै व्यवधान नआए आगामी असोज महिनासम्म पहिलो युनिटबाट बिजुली उत्पादन हुने आयोजनाका सहायक प्रवन्धक विमल गुरुङले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।