नेपालमा संक्रमित ११९८ पुगे
काठमाडौं, जेठ १५ : नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ । बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् ।
रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ वर्षीय बालिकदेखि ४० वर्षका पुरुषसम्म १७ जनामा संक्रमण देखिएको हो ।
यस्तै महोत्तरीका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनी १५ देखि ४५ वर्षका छन् । सर्लाहीका ७ र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको गरिक्षणमा १८ देखि ४२ वर्षका १२ जना तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ३२ र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ५ जनाको कोरोनाले मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किसकेका छन् । बिहीबार भारतबाट आउँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका एक व्यक्तिमा पनि कोरोना पुष्टि भएपनि सरकारले घोषणा गरिसकेको छैन ।