बलिउडका चर्चित संगीतकार वाजिद खानको कोरोनाले निधन

काठमाडौं, जेठ १९ : बलिउडका चर्चित संगीतकार वाजिद खानको कोरोना भाइरसको संक्रमणबाट ४२ वर्षको उमेरमा निधन भएको छ।

उनको आइतबार बिहान मुम्बईको एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मिर्गौला संक्रमण भएपछि उनको मृत्यु भएको जनाएको छ।

उनी मिर्गौलामा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। एक सातादेखि उनी कोरोनासँग लडिरहेका थिए।

उनी यस अघि पनि मिर्गौलाको उपचारका लागि अस्पताल भर्ना भएका थिए। यस पटक भने कोरोना संक्रमण भएपछि घर फर्किन पाएनन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उनी बलिउडका चर्चित संगीतकार हुन्। बलिउड अभिनेता सलमान खानका संगीत निर्देशक समेत हुन्।

उनले दबंग, वांटड, वीर, नो प्रॉब्लम, गॉड तुस्सी ग्रेट हो, पार्टनरलगायत कयौं फिल्ममा गीत पनि गाएका थिए।

साजिद-वाजिदको जोडीले एक था टाइगर, दबंग, दबंग-२, दबंग-३,पार्टनर, सन ऑफ सरदार, राउड़ी राठौर, हाउसफुल-२ लगायतका चर्चित फिल्ममा संगीत दिएका थिए।