शुरु भो धान रोप्ने चटारो


कोरोना जोखिम हुन नदिन बन्दाबन्दी जारी छ । पोखरा–२४ फेवातालको सिरान फेवाफाँटका किसानलाई खेत जोत्न र धान रोप्न भ्याइनभ्याइ छ । जेठको दोस्रो सातादेखि नै सो फाँटमा धान रोप्ने चटारो शुरु हुन्छ ।

स्थानीय किसान मनहरि तिमिल्सिना भन्नुहुन्छ, “कास्कीमा सबैभन्दा पहिला धान रोपिने ठाउँ नै फेवाफाँट हो । जेठ १० देखि शुरु हुन्छ, त्यसपछि शिशुवा फाँटमा धान रोपिन्छ, वर्षा हुँदाबित्तिकै खेत रोप्न शुरु हुन्छ”, उहाँका अनुसार सो फाँट जग्गाको स्वामित्व भएका स्थानीय कृषक जम्मा २५ प्रतिशत छन् । अरु अँधिया रोपिने गरिन्छ ।

अर्का कृषक धनश्याम देवकोटाले पाँच हलको खेतबाट ५० मुरी धान उत्पादन गर्ने जानकारी दिनुभयो । “मेरो दुई हलको खेत हो, तीन हलको अँधिया कमाउने गरेको छु, २२ वर्षदेखि अँधिया खेत रोप्दै आएको छु”, उहाँले रासायनिक मलका कारण ‘जेठोबूढो’ धान पहिलाजस्तो मगमग बसाउन छाडेको बताउनुभयो ।

सोफाँटको जग्गा बाँझो हुँदैन ।  पानी भरिरहने केही गह्रामा धान रोपिँदैन । सिमसार क्षेत्रमा हुने सिमचरीले धान खाने समस्या पनि छ । फाँटमा रोपाहारा, बाउसे र हलीहरुसँगै आधुनिक कृषि प्रणालीअन्तर्गत केही खेतहरुमा ट्र्याक्टरको प्रयोग पनि हुने गरेको छ  । किसानले जेठोबूढो चामल पाथीको रु ६०० मा बेच्ने गरेका छन् भने रु चारदेखि पाँच हजार मुरीको बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको धान बाहिरी जिल्लामा पनि पुग्ने गर्दछ ।

कास्की जिल्लाको धान उत्पादन तथा वितरण विषयमा शोधपत्र तयार गर्नुभएका अनुसन्धानकर्ता भानु पराजुलीका अनुसार फेवाफाँटको करिब ६०० हेक्टर जमिनमा २१ मेट्रिक टन धान उत्पादन हुन्छ । पछिल्लो समय तालक्षेत्र केही बढेको छ । यो फाँट अधिकांश पोखरा क्षेत्रका व्यवसायीको जमिन छ भने करिब २५ प्रतिशत मात्रै स्थानीयवासीको रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले पोखरा महानगरमा ११ हजार २०० हेक्टरमा धानखेती हुने, उत्पादन करिब ३९ हजार २०० टन मात्र हुने र त्यसमा पनि खानयोग्य भनेको २० हजार टन मात्र रहेको बताउनुभयो । पोखराको स्थायी जनसङ्ख्या करिब पाँच लाख र अस्थायीसमेत गरी १५ लाख जनसङ्ख्या रहेको अनुमान छ । अहिलेको सो जनसङ्ख्यालाई आँकलन गर्दा प्रतिवर्ष एक लाख टनभन्दा बढी धान उत्पादन हुनुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय खेतीयोग्य जमिन प्लटिङ हुँदै घर बन्न थाले पनि धान उत्पादन घट्दै गएको उहाँ बताउनुहुन्छ ।

महानगरपालिकाभित्र कूल धान रोपनी क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा जेठोबूढो धान रोपाइँ हुने गरेको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।-रासस