भारतमा कोरोनाबाट एक सांसदको मृत्यु

काठमाडौं, जेठ २८ : कोरोना भाइरसको संक्रमणबाट भारतमा एक सांसदको मंगलबार बिहान मृत्यु भएको छ।
भारतको तामिलनाडु राज्यका डीएमकेका सांसद जे. अन्बाजगनको उपचारका क्रममा मृत्यु भएको हो। तमिलनाडुका मुख्यमन्त्री एडम्पाडी के. पलानीस्वामीले ट्वीट गर्दै कोरोनाबाट सांसदको मृत्यु भएको सार्वजनिक गरेका छन्।
उनको चेन्नेईको निजी अस्पतालमा उपचार भइरहेको थियो। उनी केही दिन अघि कोरोना पोजिटिभ देखिएका थिए।
उपचारका क्रममा मृत्यु भएको रेला इन्स्टिच्यूट एन्ड मेडिकल सेन्टरले जनाएको छ। उनको सेन्टरमै उपचार भइरहेको थियो। कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनलाई निमोनियाले च्यापेको जनाएको छ।
जेठ २० गते अस्पताल भर्ना भएका उनलाई जेठ २१ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो। उनलाई स्वास फेर्न समस्या भएको थियो। सोमबारदेखि शरीरका अन्य अंगले पनि काम गर्न छोडेका थिए।
सांसद अन्वाजगन ६१ वर्षका थिए। उनी तीन पटक लगातार सांसद भएका थिए।