काठमाडौं उपत्यकाका पसल खुल्ने, सवारी साधन जोर-बिजोरमा चलाउन पाईने

काठमाडौं, जैठ २७ : सरकारले काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको संख्या कम भएका जिल्लामा विहिबारदेखि पसल खोल्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पसल खोल्न दिने निर्णय गरेको हो । 

त्यस्तै सवारी साधनलाई पनि जोर र बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय गरेकाे हो । 

मन्त्रिपरिषद्ले ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन मापदण्ड पुरा गराएर संचालन गर्न दिने भएकाे छ । लामो रुटकालाई भने अहिले अनुमति नदिने भएको छ । सवारी साधन संचालनका लागि जोर अंकको गते जोर भएका सवारी साधन र बिजोर अंकको गते बिजोर भएका सवारी साधन मात्रै चलाउन पाउनेछन् । चारपांग्रे निजी सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् ।

मन्त्रिपरिषद् बैठकले लकडाउनको खुकुलो पार्ने मोडालिटी तय गरेको हो । जनजीवन सहज पार्नका लागि मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने जनाएको छ। – काठमाडौँ प्रेस