युवकद्वारा क्वारेन्टाइनमै आत्महत्या, काेराेना परीक्षण गरिँदै
तनहुँ, असार १० : तनहुँको घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा एक युवकले गएराति आत्महत्या गरेका छन्।
घिरिङ गाउँपालिकाकै वासिन्दाले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनी असार ४ गते भारतबाट फर्केका थिए।
सुरुआतमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। त्यहाँबाट उनले भाग्ने प्रयास गरेका थिए।
त्यसपछि गाउँपालिकाले सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखेको थियो। उनले त्यहिँ क्वारेन्टाइनमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
यो क्वारेन्टाइनमा उनीसहित पाँच जना बस्दै आएका थिए। “ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु,” डीएसपी तिमिल्सिनाले भने, “घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पठाइएको छ। सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेको छ।” उनकाे काेराेना परीक्षण गरिने जनाएकाे छ।
तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।
मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। ति युवकले क्वारेन्टाइनमा किन आत्महत्या गरे भन्ने खुलेको छैन। – kअठ्मंदु प्रेस
