नेपालमा ७० वर्षपछि आयो २० गुणा ठूलो सलहको समूह

काठमाडौं, असार १४ : सलह नेपाल प्रवेश गरेको छ। दशकाै‌ंपछि शनिबार तराई–मधेशका केही जिल्लामा सलह देखिएको हो।

भारतमा ठूलो संख्यामा देखिएको सलह दक्षिणबाट उत्तरतर्फ हावा बहेसँगै नेपाल प्रवेश गरेको कृषिविज्ञहरुले बताएका छन्। यो सात दशकपछि नेपाल प्रवेश गरेको कृषिविज्ञ कृष्ण पौडेलले बताए। उनका अनुसार वि.स. २००६–७ सालतिर सलह नेपाल प्रवेश गरेको थियो। ‘सलह ७० वर्षभन्दा पहिला पनि देखिएको थियो। पहिलाको तुलनामा २० गुणा ठूलो समूह छ,’ कृषिविज्ञ पौडेलले भने।

यो फौजि किराजस्तै हो। समूहमा हिड्ने गर्छ। जहाँ हरियो देख्यो, त्यति बस्ने र हरियो पातहरु सखाप पार्ने गरेको उनले बताए। ‘विरुवाको पात खाएर हाँगा र बोक्रालाई समेत सखाप पार्छ,’ पौडेलले भने।

नेपालमा भर्खर रोपाइँको सिजन चलिरहेको छ। यसले भर्खर रोपेको धानसमेत नष्ट गर्ने कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा.महादेवप्रसाद पौंडेलले बताए। ‘सानो संख्यामा आएको भएपनि नेपालजस्तो सानो देशमा ठूलो क्षति पुर्‍याउँनसक्छ,’ डा.पौडेलले भने। यसले धानको बाला नखाएपनि पातहरु भने सखाप पार्ने उनी बताउँछन्।

शनिबार सलहको समूह पहिलो पटक बारामा देखियो थियो। त्यसपछि अन्य जिल्लामा पनि दखिएको छ। अहिलेसम्म रुपन्देही, पर्सा, सर्लाही, सिन्धुली, चितवन र काभ्रेको पनौतीमा फाट्टफुट्ट देखिएको कृषि विभागले जनाएको छ।

अहिले नेपाल प्रवेश गरेको सलह ठूलो नभई सानो समूहमा छ। हावाको बेग अनुसार जुनसुकै स्थानमा पनि पुग्न सक्ने कृषि विज्ञहरुले बताएका छन्।
कृषिविज्ञहरुका अनुसार यो फट्यांग्रा जातको किरा हो। समूहमा बस्न मन पराउने सलह समूहमा नै उड्छ। इसको गति प्रतिदिन एक सय ५० किलोमिटर बराबर हुने गरेको पौडेलले बताए। चार दिनमै नेपालभर डुल्न सक्छ।

कृषिविज्ञ पौंडेलका अनुसार नेपाल प्रवेश गरेका सलह वयस्क अवस्थाका छन्। अन्य देशमा जस्तो नेपालमा असर नपर्ने उनको अनुमा छ। ‘सलहले गर्मी र मरुभूमिमा मात्र बच्चा जन्माउने भएकाले अन्य देशमा जस्तो असर नगर्ने अनुमान गर्न सकिन्छ,’ उनले भने।

अर्को, यो वर्षातको समयमा नेपाल प्रवेश गरेको छ। पानी परेको समयमा उड्न नसक्ने भएकाले कम नोक्सानी हुने उनको भनाइ छ। ‘यो समूहमा उड्ने गर्छ। पानी परेको समयमा धेरै सक्रिय रहन सक्दैन,’ उनले भने।

कृषि विभागका कृषि अर्थविज्ञ डा.पौडेलको पनि यसले नेपालमा धेरै क्षति नगर्न अनुमान छ। ‘अहिले नेपाल प्रवेश गरेको सलह ठूलो नभई सानो समूहमा छ, त्यस्तैले तत्काल डराउनुपर्ने अवस्था नभएपनि सचेत रहनु आवश्यक छ,’ डा.पौडेलले भने।

यसलाई नियन्त्रण गर्न सकिने पनि कृषिविज्ञहरुले बताएका छन्। सलह धेरै पोषिलोयुक्त किरा भएकाले जालोको पासोमा संकलन गरी पंक्षीहरुका लागि दानाका रुपमा प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ।

यसरी गर्न सकिन्छ नियन्त्रण

अर्को, सलह आउँदै गरेको अवस्थामा धुवा तथा ध्वनि निकालेर यसको झुण्डलाई अन्यत्रै मोड्न सकिन्छ। त्यस्तै, अहिले सलह नपुगेको स्थानमा टनेल तथा प्लास्टिकको घर बनाई किरा छिर्न नसक्ने गरि बालीनाली जोगाउन सकिन्छ।

यससँगै विषादी पनि छर्किन सकिन्छ। वयस्क अवस्थामा एकाएक स्थानान्तरण गर्दै आउने भएकाले सलह नियन्त्रणको लागि प्रभावकारी उपाय विषादी भएको विज्ञहरु बताउँछन्।

बिहानको समयमा सलह किरा घाम तापेर बसेको हुन्छ। त्यस्तो वेला विषादी छर्केर मार्न सकिन्छ। विषादी छर्दा एकैपटक धेरै क्षेत्रफलमा छर्कनुपर्ने भएकाले दकमल, हेलिकप्टर वा जहाजको प्रयोग गर्न सकिने कृषिविज्ञ पौडल बताउँछन्।

कृषिकले विषादी छरेर नियन्त्रण गर्न भने गाह्रो हुने उनको भनाइ छ। कृषकले एक स्थानमा विषादी छर्किँदा अर्काे स्थानमा बस्ने भएकाले नियन्त्रण गर्न मुस्किल हुने उनी बताउँछन्।

यसको नियन्त्रणका लागि मालाथिन, ल्याम्डा साइहेलोथिन, क्लोरोपाइराफसलगायत विषादी छर्किन सकिन्छ। मानिसको स्वास्थ्य र वातावरणलाई असर नपार्ने मालाथिन प्रयोग गर्दा एकै दिन धेरै संख्यामा सलह कम गर्न सकिने कृषिविज्ञ पौडेलको भनाइ छ। – काठमाडौँ प्रेस