दुई अध्यक्षबीच तीन घण्टा निकै खुलस्त कुराकानी भयो : महासचिव पौडेल

काठमाडौं, असार १९ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको विवाद समाधानको सहल सुरू भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयलाई लिएर नेकपाभित्र चर्किएको विवाद साम्य गर्न दोस्रो तहका नेताहरुले प्रयास थालेका हुन्।

विवाद सुल्झाउन दोस्रो तहका नेताले थालेको प्रयास स्वरुप शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच झण्डै तीन घण्टा कुराकानी भएको हो।

जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायत स्थायी कमिटीमा बोल्ने संस्थापन इतर समूहका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो। 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीलाई हटाउने विषयमा एक ठाउँमा उभिएपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बिहीबार संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सरकारले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनका अधिवेशनको अन्त्य गरेकी थिइन्। 

पार्टीभित्र कुनै पनि छलफल नगरी दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि थप चिढिएका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरु ओलीलाई जसरी पनि हटाउने पक्षमा अडिएका छन्।

तर, त्यसो हुँदा पार्टी विभाजनमा जाने खतरा बढेपछि दोस्रो तहका नेताहरुले विवाद मिलाउने प्रयास स्वरुप शुक्रबार कृषिमन्त्री घनश्याम भुसालको निवासमा छलफल गरेका थिए। संस्थापन र इतर समूहका दोस्रो तहका नेताहरु सहभागी बैठकले दुवै अध्यक्षलाई छलफलमा राखेर विवाद समाधानका लागि दबाब दिने निष्कर्ष निकालेको थियो। 

अध्यक्ष प्रचण्ड आफ्ना विश्वासपात्र जनार्दन शर्मालाई लिएर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न बालुवाटार पुगेका थिए। करिब तीन घण्टा चलेको वार्तामा प्रधानमन्त्री ओलीसँगै महासचिव पौडेल, अध्यक्ष प्रचण्ड र स्थायी कमिटी सदस्य शर्मा सहभागी थिए। 

वार्तामा दुई अध्यक्षबीच निकै खुलस्त कुराकानी भएको महासचिव पौडेलले जानकारी दिए। उनका अनुसार वार्तामा दुवै अध्यक्षले आफूलाई लागेका कुराहरु खुलस्त रुपमा राखेका थिए। ‘विवाद समाधानको प्रयास स्वरुप दुई अध्यक्षबीच सम्बाद सुरु भएको छ,’ पौडेलले भने,‘थप छलफल अब दुई अध्यक्षले स्थायी कमिटी बैठकअघि फेरि कुराकानी गर्नुहुन्छ।’

बैठकमा सहभागी भएका अर्का नेता जनार्दन शर्माले पनि दुई अध्यक्षबीच सौहार्दपूर्ण र खुलेर कुरा भएको बताए। ‘पार्टीलाई एकढिक्का र एकताबद्ध बनाएर अघि बढ्ने विषयमा उहाँहरुबीच लामो छलफल भयो। अर्को चरणमा फेरि सबै विषयमा छलफल हुनेछ,’ शर्माले भने। 

दुवै अध्यक्ष ओली र प्रचण्डको जोड पार्टी एकताको मर्मअनुरुप नै अघि बढ्नेमा रहेको उनले बताए। 

प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको र त्यो समेटेर नयाँ नक्सा छापेपछि आफूलाई भारत तथा पार्टीभित्रकै नेताहरु प्रधानमन्त्रीबाट हटाउन लागिपरेको बताएका थिए। प्रधानमन्त्री ओलीको त्यस्तो अभिव्यक्तिपछि पार्टीको स्थायी कमिटीको बैठक प्रधानमन्त्रीको राजीनामा र उनको अभिव्यक्तिमै बढी केन्द्रित भएको थियो। 

प्रधानमन्त्रीले आफूलाई भारतले हटाउन खोजेको अभिव्यक्ति दिएपछिको स्थायी कमिटी बैठकको सुरुमा बोल्दै अध्यक्ष प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेकाले तत्काल हट्न भनेका थिए। प्रचण्डको भनाइलाई समर्थन गर्दै वरिष्ठ नेता नेपाल समूहका नेताहरुले पनि राजीनामाको विषयलाई चर्को रुपमा उठाएपछि प्रधानमन्त्री ओली रुष्ट बनेका हुन्। 

त्यसपछिका स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली केहीबेरमात्रै बसेर निस्किने गरेका थिए भने बिहीबार बोलाइएको बैठकमा प्रधानमन्त्री ओली सहभागीसमेत भएनन्। बरु, सल्लाहविनै संसदको अधिवेशन अन्त्य गर्ने निर्णयमा पुगे। 

प्रधानमन्त्री ओलीले आफूलाई हटाउन खोजिएको  भन्दै त्यसलाई रोक्न पार्टी फुटाउन सहज हुने अध्यादेशसमेत अघि बढाउन खोजेको भन्दै प्रचण्ड–नेपाल समूह सशंकित हुन पुगेको छ।  संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याए नेकपा विभाजन हुन सक्ने भन्दै दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीचको असझदारी हटाउन पहल थालेका हुन्।