नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, असार २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ।
शनिबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक दुई दिनका लागि स्थगित भएको हो। पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप छलफल गर्नु पर्ने भएपछि बैठक स्थगित गरिएको हो। नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद चुलिएको छ।
विवादकैबीच प्रधानमन्त्री ओलीले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गराएका थिए। त्यसपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष थप चिढिएको छ। स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि नेकपा फुटकै संघारमा पुगेको छ।
स्थायी कमिटीको बैठक असरा २२ गतेका लागि बोलाइएको छ। यसअघि बिहीबार दुई पटक बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली सहभागी नभएपछि शनिबार शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो।
