प्रहरीको २८ औं आईजीपीमा शैलेश थापा नियुक्त

काठमाडौं, असार २३ : सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
आईजीपीमा नियुक्त भएका थापा कार्यसम्पादन मुल्यांकनमा पहिलो वरियतामा थिए। उनीसँगै आईजीपीका लागि एआईजी हरिबहादुर पाल पनि दौडमा थिए।
३० वर्षे सेवा अवधिका कारण बुधबारबाट आईजीपी ठाकुरप्रसाद ज्ञवालीले अनिवार्य अवकाश लिँदै छन्। थापा २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।
एआईजीमा बढुवा भएपछि थापा मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत थिए। यसअघि डिआईजी हुँदा थापाले प्रहरी प्रवक्ता र महानगरी प्रहरी कार्यालयको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका थिए।
