बाढीले बाह्रबिसेमा दुईको मृत्यु, १८ बेपत्ता

काठमाडौं, असार २५ : अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।

बुधबार राती ११ बजेतीर बाह्रबिसे इलाका प्रहरी कार्यालय नजिकै आएको वाढीले दर्जन वढी घर बगाएपनि नजिकै सैनिक क्याम्प भएकाले उनीहरुको तत्कालै उद्धार गरिएकाले मानवीय क्षति भने नभएको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए ।

वाढीले खाटचौर भन्ने स्थानमा राजमार्गमै रहेको पक्की पुल समेत बगाएको छ । राजमार्गको पक्की पुल नै वाढीले बगाएपछि यातायात सेवा समेत ठप्प भएको छ ।

यस्तै, बाह्रबिसे  न.पा .५ जम्बु भन्ने ठाउँमा आएको पहिरोले केहि घर बगाउँदा १८ जना बेपत्ता भएका छन् भने २ जनाको शव फेला परेको छ । राजमार्गकै सडकहरुमा समेत वाढीले क्षति पुर्‍याएपछि उद्धार कार्यमा समेत कठिनाई भएको छ ।

यद्यपी, उद्धार कार्यमा सुरक्षाकर्मी खटिरहेको छ । सडक सञ्जालमा समेत क्षति पुगेपछि उद्धार गरिएका ४ जनालाई स्थानीय स्वास्थ्य चौकीमा लगिदै गरिएको थापाले जानकारी दिए ।