रुने पालो
म त्यहाँ पुग्दा नेताजी बडो चिन्तित मुद्रामा भेटिए । उनको आँखाबाट आँसु खस्न मात्र बाँकी थियो । लाग्थ्यो अब केही भन्नेबित्तिकै उनको आँखाबाट सानोतिनो आँसुको बाँध फुस्किने छ । देश र जनताको अवस्था’bout संधै लागिरहने नेतालाई चिन्तित पाउनु स्वाभाविकै हो । देशको अवस्था यतिखेर निरीह र नाजुक पनि थियो कि कसैको पनि आँखाबाट आँसु त के आगो खस्न पनि बेर लाग्दैन ।
चुनाव भइरहेको थिएन । नयाँ संविधान कार्यान्वयन गर्न नदिन देशीविदेशी शक्ति लागिपरिरहेको थियो । त्यसमाथि सरकार गम्भीर संकटमा थियो । कतिखेर ढल्ने हो ठेगान थिएन । देश र जनताको पक्षमा विरोधी र प्रतिगामी शक्तिले काम गर्न दिइरहेको थिएन । जनता सामान्य दैनिकीका खाद्यवस्तु समेत नपाएर हैरान थिए । यस्तो बेला सरकारमा उपस्थिति जनाइरहेको पार्टीका नेतालाई देश र जनताको चिन्ता हुनु स्वाभाविकै थियो ।
मलाई अप्ठ्यारो लाग्यो । त्यस्ता केन्द्रीय स्तरका नेतालाई के भनेर सान्त्वना दिउँ । उनी स्वय्म पनि कसैलाई केही समस्या पर्दा सान्त्वना र धैर्य धारण गराउन हौसला दिने व्यक्ति थिए ।
नेताजी नयाँ समस्या थपियो कि ?, मैले विस्तार सोधें ।
समस्या मात्र थपिएको हो र ! यहाँ त पहाडै भास्सियो नि ।
मैले सोचें मुलुकमा ठूलै संकट आइपरेको छ ।
हैन, त्यस्तो नयाँ समस्या के थपियो नेताजी ?, मैले सोधें ।
मैले देश र जनताको यति सेवा गरें । अहिले पार्टीका अध्यक्षले मेरै छोरालाई विदेशमा पढ्न जाने कोटामा मिलाइदिएनन् । अनि चिन्ता नहुनु त !, नेताजीले आक्रोश पोखे ।
अब रुने पालो मेरो थियो ।