कुनै पनि बहानामा फोटो पत्रकारहरुलाई निष्कासन गर्न पाइंदैन

काठमाडौँ असार ३१ : पीजे क्लब र राष्ट्रिय फोटो पत्रकार समुहले बुधवार संयुक्त प्रेस वक्तव्य जारी गर्दै संचार गृहमा कार्यरत फोटो पत्रकारहरुलाई कुनै पनि बहानामा निष्कासन गर्न पाइंदैन भनेको छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले संञ्चार क्षेत्रमा पारेको असर र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको विषयमा गम्भीर वहस हुदै आएको छ ।


विशेषगरी लकडाउनको अवधिमा श्रमजीवी पत्रकार तथा फोटो पत्रकाहरुलाई निष्कासन गर्ने, बेतलवी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, जिम्मेवारी विहीन गराउने जस्ता जटिल समस्या मिडिया हाउसहरुमा देखिएको छ।


मिडिया हाउसले लकडाउनलाई एउटा बहाना बनाएकोे अनुभुति यतिबेला श्रमजीवी पत्रकारहरुलाई भएको छ ।
हामी सबैलाई थाहा छ, समय संकटपूर्ण छ तर यसको समाधान पत्रकारहरुलाई निष्कासन गर्ने, बेतलबी विदामा राख्ने वा पारिश्रमिक कटौति गर्ने होइन ।


यसै परिप्रेक्ष्यमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे नेपाल) र फोटोपत्रकार क्लव (पिजे क्लव) श्रमजीवी पत्रकारको हक अधिकार संरक्षणका लागि अग्रपंतिमा रहने छ । हामी मिडियासँग सम्वद्ध संघ संस्थाहरुसँग हातेमालो गर्दै श्रमजीवी पत्रकारको अधिकार रक्षाको संघर्षमा सँगै हुने छौं ।  


यसै क्रममा काठमाडौं केन्द्रमा कार्यरत फोटोपत्रकार क्लव (पिजे क्लव) का अध्यक्ष तथा अन्र्नपूर्ण पोष्टमा फोटो सम्पादक विकास कार्की लगायत अन्य श्रमजीवी पत्रकारहरुलाई संस्थाबाट निष्कासन गर्ने गलत मनसायले विभिन्न वहानामा सरुवाको नाटक मन्चन गरिएको छ । यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी अन्नपूर्ण पोष्ट दैनिकको व्यवस्थापन र सम्पादकीय नेतृत्वलाई उक्त गैरव्यवसायीक निर्णय तुरुन्त फिर्ता लिन आग्रह गर्दछौं ।

गैरव्यवसायीक मनसाय र श्रमजीवी पत्रकार ऐन विपरित नजान हामी सम्पूर्णलाई अनुरोध गर्दछौं । पत्रकार तथा फोटोपत्रकारकोे पेशागत सुरक्षा र अधिकार स्थापित गर्न जुन सुकै मूल्य चुकाउन हामी फोटोपत्रकारहरु पछि नपर्ने विश्वास दिलाउँदै गैरव्यवसायीक हर्कतविरुद्ध ऐक्यवद्धताका साथ अगाडि बढ्न सम्पूर्ण फोटोपत्रकारहरुलाई यसै विज्ञप्ती मार्फत हार्दिक अपिल गर्दछौं ।