मंसिरमा महाधिवेशन गर्ने, तत्काल अध्यक्ष र प्रधानमन्त्री नछाड्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं, साउन ३ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव पेश गरेका छन् ।

शनिबार बसेको पार्टी सचिवालय बैठकमा ओलीले छिट्टै महाधिवेशन गरेर पद हस्तान्त्रण गर्न तयार रहेको सन्देश दिने गरी नयाँ प्रस्ताव अघि सारेका हुन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन्।

पार्टीलाई व्यक्ति उन्मुख नभई विधि उन्मुख बनाउन सचिवालय सदस्यहरुले दबाब दिएपछि सहमतिका साथ अघि बढ्न नेतृत्व तयार रहेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘व्यक्तिगत स्वार्थलाई पर राखेर विधिसम्मत ढंगले पार्टी सञ्चालन गर्न सचिवालयका सदस्यहरुले दबाब दियौँ, उनले भने ,‘विधिवत ढंगबाट  पार्टीलाई चलाउने विषयमा शीर्ष नेताहरु सहमत देखिनुभयो।’

शनिबारको  बैठकको सुरुवाती चरणमा  केपी शर्मा ओली केही आक्रोशित भएपनि पछि उनैले सहमतिका केही खाका अघि सारेका थिए। उनले प्रधानमन्त्रीबाट आफ्नो राजीनामा कसको चाहनामा अघि सारिएको प्रष्ट हुनुपर्ने र आफ्नो विकल्पमा कसलाई ल्याउन खोजिएको हो प्रष्ट पार्नुपर्ने माग गरेका थिए। आफ्ना विरुद्ध उपयुक्त पात्र खडा गर्न नसक्ने हो भने राजीनामा माग्नुको औचित्य नहुने उनले बताएका थिए। ‘मेरो विकल्पमा को प्रधानमन्त्री बन्न चाहेको हो प्रष्ट हुनुपर्छ की स्पष्ट रुपमा विकल्प अधि सार्नुस् की अमूर्त रुपमा राजीनामाको मात्रै कुरा नगर्नुस्’, प्रधानमन्त्रीको भनाई उद्धत गर्दै एक सचिवालय सदस्यले भने।

ओलीले आक्रोश व्यक्त गरेपछि अध्यक्ष प्रचण्डले सरकार सञ्चालन र पार्टीलाई विधिवत रुपमा सञ्चालन गर्न अध्यक्ष ओलीले प्रस्ताव अघि सार्नुपर्ने माग गरे। यस्तै नेता माधव कुमार नेपालले पार्टी र सरकार सञ्चालनको शैली सुदृढीकरण प्रमुख एजेण्डा रहेको भन्दै कार्यशैली सच्याउनुपर्ने माग अघि सारेका थिए । ‘पार्टी र सरकार सञ्चालनको शैली सुधार्नका लागि हाम्रो दबाब हो प्रधानमन्त्री बन्न कोही हतारिएको छैन पार्टीको एकताको मर्म कायम राख्न तपाइँको प्रस्ताव चाहेका छौँ,’ माधव नेपालले सचिवालय बैठकमा भनेका थिए।

त्यसपछि प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए।‘मंसिरमा महाधिवेशन गरौँ, अहिलेलाई धेरै विवाद नगरौँ,’ प्रधानमन्त्रीको भनाई उद्धत गर्दै सचिवालय सदस्य वामदेव गौतमले भने।

प्रधानमन्त्रीको प्रस्तावलाई नेताहरुले सहजै पत्याउन सकेका छैनन्। बैठकमा नेता माधव नेपाल  झलनाथ खनाल र वामदेव गौतमले मौखिक आश्वासनमा विश्वस्त हुने आधार नभएकाले लिखितरुपमै प्रस्ताव आउनुपर्ने माग गरेका थिए। ‘प्रधानमन्त्रीको प्रस्तावमा हामी विश्वस्त हुने आधार थिएन उहाँले लिखित रुपमा प्रस्ताव पेश गर्नुपर्ने माग नेताहरुले बैठकमा राख्यौँ’, नेता खनालले भने।

बैठकमा नेता नेपालले उधारो सहमति गर्दा पार्टीभित्र बारम्बार धोका पाइएको भन्दै लिखित रुपमा प्रतिबद्धता आउनुपर्ने धारणा राखेका थिए।‘यसअघि भइरहेको सहमति पनि कार्यान्वयन भएका छैनन् उधारो सहमतिले पार्टीभित्र बारम्बार धोका भइरहेको छ,’ नेता नेपालले बैठकमा भनेको सचिवालयका एक सदस्यले जानकारी दिए।

शनिबारको बैठक सकरात्मक रुपमा अघि बढेपनि नेताहरुले सहमति भने गर्न सकेनन्। उनीहरुले स्थायी कमिटिको बैठक आव्हान भइसकेकाले स्थायी कमिटीसामू अध्यक्ष ओलीले लिखित प्रस्ताव पेश गर्नुपर्ने माग समेत गरेका थिए। आइतबारका लागि तय भएको बैठक स्थगित नहुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको दाबी छ।

सचिवालय बैठक सकिनासाथ प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासतिर लागेका थिए ।  राष्ट्रपतिसंग के विषयमा कुराकानी भयो भन्ने विषयमा दुवै पक्षले सार्वजनिक गरेका छैनन् । कतिपयले भने ओली र दाहालसँगै शितल निवास जानुलाई नेकपाको विवाद अन्त्यतिर गएको संकेतको रुपमा विश्लेषण गरेका छन्।