प्रचण्ड निवासमा झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ सहितका नेताहरुको बैठक

काठमडौं, साउन ५ : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ।

आइतबार बिहान ९ बजेदेखि जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्। नेता नेपालनिकट केही स्थायी समिति सदस्यहरू पनि खुमलटार पुगेका छन्। 

नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको छ। 

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच चोचोमोचो भएको भन्दै वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका थिए।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

दुई अध्यक्षको धारणा एउटै आएपछि सचिवालयका अन्य सदस्यहरुले यसलाई दुई अध्यक्ष मिलेको रूपमा बुझेका थिए। तर प्रचण्डको सचिवालयले भने यसलाई खण्डन गरेको थियो।

प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले दुई अध्यक्षबीच कुनै सहमति नभएको र सम्पूर्ण विषय छलफलकै क्रममा रहेको सामाजिक सञ्जालमार्फत बताएकी थिइन्।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीसँग कुनै सहमति नभएको भनेर वरिष्ठ नेता नेपाललाई आश्वस्त पार्न खोजेका छन्।