देउवा-ओली भेटघाट बाक्लिएपछि ‘छटपटिमा’ प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह यतिबेला नेकपामा हावी छन् । यी दुई नेता लगायतका अन्य वरिष्ठ नेताहरु मिलेर गठबन्धन गरेसँगै नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् ।

अल्पमतमा परेपनि सत्ता र शक्ति गुमाउन नचाहेका ओली यतिबेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग हेलमेल बढाइराखेका छन् । बिहीबार पनि ओलीले कांग्रेस सभापत शेरबहादुर देउवालाई बालुवाटार बोलाएर भेटे । 

यसअघि आफ्ना विश्वासिला पात्र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत देउवासँग सत्ता साझेदारीको कुरा गर्दा खासै सफलता नपाएका ओली अहिले आफैं अघि सरेको बुझिएको छ । बिहीबार ओली र देउवाबीच लामै छलफल भएको थियो । 

यता ओली र देउवाको कुराकानी र भेट बढेसँगै प्रचण्डलाई भने छट्पटि बढेको बुझिएको छ । प्रम ओलीले केही मन्त्री र एक मुख्यमन्त्री दिने प्रस्तावसहित अर्ली महाधिवेशन गरौं भन्दा नेता नेपाल लगायतको चित्त बुझाउन नसकेका प्रचण्डलाई छटपटि बढ्नु स्वभाविक भएको बालुवाटार स्रोतले दावी गरेको छ । 

बिहीबार देखि नै ओलीसँग भेट्न चाहेका प्रचण्डले शुक्रबार ११ बजेमात्र बालुवाटारमा जाने अवसर पाए । दुई घण्टा भलाकुसारी गरेका प्रचण्डले पार्टीको विवादको साथै देउवासँगको भेट’bout पनि चासो राखेको बालुवाटार स्रोतले बताएको छ । 

पछिल्लो समय स्थायी समितिको बैठक एक साता सरे यता विवादको विषयमा चर्चा हुन छाडेको छ । कुनै समय यसैगरी चर्किएको विवादमा विरोधी नेता थाकेपछि विरोधीलाई पेलेरै जाने प्रम ओलीको रणनीति सफल हुँदै गएको जानकारहरु बताउँछन् । – सरल पत्रिका …..