काँग्रेस नेता गोविन्दराज जोशी पार्टीबाट निस्काशित


काठमाडौँ। नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीलाई पार्टीबाट निस्कासित गरिएको छ। काँग्रेस अनुशासन समितिले जोशीलाई पार्टीबाट निस्कासन गरेको हो। जोशीसँगै कैलालीका नेता पुस्करनाथ ओझा र डडेल्धुराका रामबहादुर विष्टलाई पनि पार्टीले निस्कासित गरेको छ।

संसदीय निर्वाचनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ। यस्तै कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्कासन गरिएको छ। उनीमाथि कैलालीमा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई निर्वाचनमा हराउन भूमिका खेलेको आरोप छ।

यसैगरी कांग्रेस डडेल्धुराका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ। अनुशासन समितिले तीनै जनालाई स्पष्टीकरण सोधे पनि चित्तबुझदो जवाफ नदिएको भन्दै अनुशासन उल्लंघन गरेको आरोपमा पार्टीबाट निस्कासन गरिएको समितिले जनाएको छ।