सुनिल थापासहित ३० नेताले राप्रपा छाडे


काठमाडौँ। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३० नेता कार्यकर्ताले शनिबार पार्टीबाट राजीनामा दिएका छन्।


राप्रपा अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापालाई पत्र लेख्दै थापासहितका नेता कार्यकर्ताले पार्टी छाडेका हुन्। पार्टी छाड्नेमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतलगायत छन्। नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटक पटक ध्यानाकर्षण गराउँदा पनि ठिक ढंगले अगाडि नबढेका कारण साथ दिन नसक्ने राजीनामा पत्रमा उल्लेख छ।

थापा आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ। थापालाई कांग्रेसले पदाधिकारी दिने आश्वासन दिएको छ। पार्टीमा सहमहामन्त्री रहेका थापा पूर्व उद्योग वाणिज्य मन्त्री हुन्। सिन्धुपाल्चोकका नेता विष्णु विक्रम थापा पार्टीको कार्यसम्पादन समितिका सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुन्।

राजीनामा दिने अन्यमा किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदार्थ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार राई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, मदन घिमिरे, ध्रुब थापालगायत छन्।