पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दा वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा

काठमाडौं, साउन ११ : पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाविरुद्धको मुद्दा सर्वोच्च अदालतका तीन न्यायाधीशको इजलासमा परेको छ।

सर्वोच्च अदालतले केहीबेर अघि प्रकाशित गरेको दैनिक पेशीको सूचिमा पूर्वडीआईजी कोइरालाको मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा परेको हो। केहीबेरमा यससम्बन्धी सुनुवाई सर्वोच्च अदालतकाे ६ न‌ं‍. इजलासमा हुने भएकाे छ।

श्रीमती गीता ढकालको हत्या गरेको पूर्वडीआईजी कोइरालालाई जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। उनी त्यसका विरुद्ध सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले सजाय घटाउन फैसला गरेको थियो। एघार वर्ष सजाय घटाएपछि उनी जेलमुक्त भएका छन्।

यसका विरुद्ध महान्यायाधिवक्तको कार्यालयले साउन ९ गते पुनरावेदनका लागि निवेदन दर्ता गरेको थियो। त्यसमा आज सुनुवाई हुन लागेको हो।

तीन न्यायाधिशको इजलासले पुनरावलोकनका लागि अनुमति दिएमा पुनः मुद्दा चल्नेछ। त्यसपछि तीन वा तीनभन्दा बढी न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ।