राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त


काठमाडौँ। राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो।

नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन्। राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त गरिएको हो। नयाँ ऐनअनुसार युवा तथा खेलकूद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाललाई सदस्य सचिव नियुक्त गरिएको हो।

युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो। उक्त पदका लागि २७ जनाले आवेदन दिएका थिए।

नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँच वटा मापदण्ड तोकिएको थियो । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकूदको अनुभव भएको र प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ। सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त भएका थिए भने नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उनी पदमुक्त भएका थिए।

त्यसैगरी बैठकले १३औँ दक्षिण एशियाली खेलकूद (साग)को प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गरेका शिव कोइरालालाई राखेप उपाध्यक्ष नियुक्त गरेको छ। उपाध्यक्ष कोइरालाको पदावधि पनि चार वर्षको हुनेछ।