भाग्न खोज्दा आमाबुबा पहिरोमा पुरिए, छोरो बाँच्न सफल भए


दार्चुला। दुहुँ गाउँपालिका–३ सल्लेखेतीमा मंगलबार बिहान पहिरो जाँदा आमाबुबा वेपत्ता भएका छन्। छोरोले भागेर ज्यान जोगाएका छन्।

भाग्न खोज्दा ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा पहिरोमै पुरिएका छन्। रामदत्त पूर्व प्रहरी हुन्। इन्द्रा पूर्व शिक्षिका हुन्। पहिरो आएको थाहा पाए पछि भाग्न खोज्दा उनीहरुका २१ वर्षीय छोरा सुनिल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

घटनास्थलमा अहिले व्रह्मदेव प्रहरी चौकी, सदरमुकाम खलंगाबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पहिरो उत्खनन गरी वेपत्ताको खोजी गरिरहेको छ। जोशीको दुई तले घर पुरिँदा गाईवस्तु समेत मरेका छन्। दार्चुला–तिंकर सडकखण्डबाट माटोको ढिस्को नै घरमा माथि परेको दुहुँ गाउँपालिकाका उपाध्यक्ष इश्वरी जोशीले बताइन्। लगातार पानी परिहेकोले वेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको छ।