सचिवालय र स्थायी समितिमै अल्झिए ओली-प्रचण्ड

काठमाडौं, असार १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी विवाद निरुपण कहाँबाट गर्ने भन्ने’boutमा नयाँ अध्यक्षद्वयले आ–आफ्नै अडान राखेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवाद समधानको प्रस्तावमा छलफलका लागि सचिवालय बैठक बोलाउनुपर्ने पक्षमा देखिएका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा ओलीले प्रस्तावमाथि छलफल गर्न सचिवालय बोलाउनुपर्ने अडान राखेका छन्।  

उपाध्यक्ष बामदेव गौतम पछिल्लो पटक ओलीका पक्षमा खुलेका छन्। गृहमन्त्री रामबादुर थापा बादलको समेत सहयोग पाउने स्थिती बनेपछि ९ सदस्यीय सचिवालयमा ओलीको बहुमत पुग्ने देखिन्छ। सोही कारण ओलीले विवाद निरुपणको प्रस्ताव सचिवालयमा गराउनुपर्ने अडान राख्दै आएका छन्। 

यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने विवाद स्थायी समितिमार्फत समधान गर्नुपर्ने अडान राखेका छन्। बामदेव गौतमले साथ छोडिसकेको र गृहमन्त्री थापा धुलमुले स्थितीमा रहेकाले आफ्नो पक्षमा निर्णय गराउन स्थायी समितिमै सहज हुने आँकलन प्रचण्डको छ। स्थायी समितिमा ओली अल्पमतमा छन्।  

सोमबारको छलफल दुई नेता आफ्नो अडानबाट पछि नहटेपछि बिना निष्कर्ष सकिएको छ। छलफलमा ओलीले सचिवालयबाटै प्रस्ताव तयार भएपछि मात्र स्थायी समिति बोलाउनु पर्ने अडान राख्दा प्रचण्डले स्थायी समिति बैठकमा निर्धारित एजेण्डाबाटै सहमति खोज्नुपर्नेमा जोड दिएको छलफलमा सहभागि एक नेताले जानकारी दिए। 
दुवै अध्यक्षले अडान नछोडेपछि मंगलबार पुनः बस्नेगरी छलफल सकिएको छ। छलफलमा ओली, प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागि थिए। 

असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक विवादका कारण अनिश्चित बनेको छ। प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको थियो। साउन १३ गते प्रचण्ड–नेपाल समूहले बहुमत स्थायी समिति सदस्यहरुको बैठक गरेपछि शक्ति संघर्ष अझ उत्कर्षमा पुगेको थियो। 

प्रचण्ड–नेपालले ओलीले दुई मध्ये एक पद छोड्नुपर्ने माग राख्दै आएपनि ओलीले दुवै पद नछोड्ने अडान राख्दै आएका छन्। ओलीले राजीनामा बाहेकका अन्य विषयमा सहमति खोजेर अघि बढ्न सकिने बताउँदै आएका छन्।