इल्ताफ हुसेन अन्सारी सुन तस्करीको आरोपमा बाराबाट पक्राउ

काठमाडौं, साउन २९ : सुन तस्करीको आरोपमा इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्। दुई साता अघि काठमाडौंबाट फरार रहेका उनी बाराबाट पक्राउ परेका हुन्।

सुनको लेपन गरेको १५ किलो पाँच सय ग्राम चाँदी र पाँच सय ग्राम सुन तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परेका थिए। अन्सारी भने फरार रहेका थिए।

उनीसँगै साउन १३ गते काठमाडौंबाट भारतको गुजरातका सञ्जय पटेल पनि फरार रहेका थिए। उनी भने अझै फरार नै रहेका छन्।

काठमाडौंको सुन्धारामा साउन १३ गते प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि उनीहरु फारर भएका थिए। सुनचाँदी छोडेर भागेका उनीहरुमध्ये निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई साउन १४ गते पक्राउ गरिएको थियो।

प्रहरीका अनुसार कौशल काठमाडौंमा र अन्य तीन जना पूर्वि नवलपरासीबाट पक्राउ परेका थिए। उनीहरुको बयानका आधारमा खोजी गर्दै जाँदा अन्सारीलाई बाराबाट पक्राउ गरिएको हो।

त्यस्तै, सुन लुकाउन सघाएको आरोपमा दुई जना प्रहरी पनि कारबाहीमा परेका छन्।   प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ र बहादुरसिंह कठायत तथा बागबजारका व्यवसायी उमेश श्रेष्ठ पक्राउ परेका थिए।

सुनचाँदी तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्सारी यस अघि नक्कली भारतीय नोटको कारोबारमा पनि पक्राउ परेका थिए। उनी कैद भुक्तान गरेपछि छुटेका थिए।

उनलाई लिन महानगरी अपराध महाशाखाको टोली बारातर्फ प्रस्थान गरेको छ। महाशाखाले प्रहरी निरीक्षकको नेतृत्वमा आज बिहान प्रहरी टोली पठाएको छ।

बाराको प्रस्टोखा–२, हरपुरका वासिन्दा अन्सारी व्यवसायी हुन्। उनी पेट्रोल पम्प सञ्चालन गर्दै आएका छन्। उनले भारतीय फिल्म सखिया र पेनाल्टी निर्माण गरेका थिए।