जोनसन संसारकै सर्वाधिक कमाउने कलाकार


एजेन्सी, साउन ३० : ड्वेन डूग जोनसन संसारकै सर्वाधिक कमाउने पुरुष कलाकार बनेका छन्। विश्व प्रसिद्ध फोबर्स म्यागजिनका अनुसार रेस्लिङका पूर्वखेलाडी जोनसनले सन् २०१९ को जुनदेखि सन् २०२० को जुनसम्म ८७ दशमलव ५ मिलियन डलर आम्दानी गरेका छन्। उनी लगातार दोस्रो वर्ष सर्वाधिक आम्दानी गर्ने पुरुष कलाकारको सूचिमा पहिलो नम्बरमा परेका हुन्।

जोनसनले नेट्फ्लिक्स थ्रिलर रेड नोटिसबाट मात्रै २३ दशमलव ५ मिलियन डलर कमाउन सफल भएका छन्। लुगाको व्यवसाय गर्दै आएको प्रोजेक्ट रक पनि उनको आम्दानीको अर्को भरपर्दो माध्यम हो। गत वर्ष पनि जोनसन सबैभन्दा बढी कमाउने कलाकारको पहिलो सूचीमै थिए।

रेस्लिङ खेलमा उनलाई द रकका नामले चिनिन्छ। उनले रेस्लिङमा विश्व स्तरका १६ प्रतियोगिता जितिसकेका छन्। सर्वाधिक कमाउने १० कलाकारको कुल आम्दानी ५४५ दशमलव ५ मिलियन डलर रहेको छ।

र्‍यान रेनोल्ड्स सर्वाधिक कमाउने कलाकारको दोस्रो स्थानमा छन्। उनले ७१ दशमलव ५ मिलियन डलर कमाएका छन्। रेनोल्ड्स क्यानेडियन फिल्म अभिनेता हुन्। ५८ मिलियन डलर कमाएका मार्क वाह्लवर्ग तेस्रो स्थानमा छन्। उनी फिल्म निर्मातासमेत हुन्। यस्तै बढी कमाउने कलाकारको सूचीमा बेन अफ्लेक चौथो तथा भिन जेसेल पाँचौं स्थानमा छन्।

भारतका अक्षय कुमार बढी कमाउनेमा छैटौँ

भारतीय अभिनेता अक्षय कुमार सर्वाधिक कमाउने कलाकारको सूचीमा छैटौँ स्थानमा छन्। उनको वार्षिक कमाइ ४८ दशमलव ५ मिलियन डलर छ।

अक्षयको सर्वाधिक कमाइ विभिन्न कम्पनीको विज्ञापनबाट आउने रकम नै हो। अक्षय कुमार हाल चलचित्र बेल बटममा अभिनय गर्न बेलायतको लण्डनमा छन्। भारतमा कोरोना भाइरसको संक्रमण अत्यधिक रहेकाले उनको टोली चलचित्र छायांकनका लागि लण्डन पुगेको हो।

अक्षयसँगै नायिका लारा दत्त, निर्माता ज्याकी भगवानी, हुमा कुरेसी, निर्देशक रञ्जित एम तिवारी पनि हाल लण्डनमा छन्। लगत्तै अक्षयले चलचित्र अतरंगी रेमा अभिनय गर्ने बताइएको छ। एक साता अभिनय गर्न अक्षयकुमारले उक्त चलचित्रबाट २७ करोड पारि श्रमिक लिएको बताइएको छ।

उक्त चलचित्रको निर्देशन आनन्द एल रायले गर्ने छन्। टप टेन सूचीमा परेका अन्य कलाकारमा लिन म्यानुअल मिरान्डा, विल स्मिथ, एडम सान्डलर र ज्याकी च्यान छन्।