पछिल्लो २४ घन्टामा कोरोनाबाट पाँच जनाको मृत्यु
काठमाडौं, भदौ २ : कोरोना भाइरसको संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा पाँच जनाले ज्यान गुमाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयहरुका अनुसार कास्कीमा दुई, ललितपुर, बाँके र काभ्रेमा एकएक जनाले कोरोनाबाट ज्यान गुमाएका हुन्। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १२ पुगेको छ।
आज बिहान पोखरा महानगरपालिका १६ का ८७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो। पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको आज बिहान साढे १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, कास्कीले जनाएको छ।
निमोनिया भएपछि उनी साउन ३२ गते अस्पताल भर्ना भएका थिए। उनलाई भदौ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, गएराति पोखरामै एक जना महिलाको कोरोनाबाट मृत्यु भएको छ। तनहूँको व्यास नगरपालिकाकी ५० वर्षीयाको सोमबार राति राति ११ः३६ मृत्यु भएको हो।
उनको पोखरास्थित कास्की सेवा अस्पतालमा उपचार भइरहेको थियो। आज बिहान आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको थियो।
यसैगरि आज बिहान ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नवलपरासी पश्चिमका कांग्रेस जिल्ला उपसभापति सुवासचन्द्र गिरीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै, काभ्रेको धुलिखेल अस्पतालमा धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय वृद्धको आज बिहानै मृत्यु भएको छ। उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए।
उनलाई प्लाज्मा थेरापी गर्ने तयारी भइरहेको थियो। तर, संक्रमण निको भएका व्यक्तिको रगत मिलेको थिएन।
सोमबार राति बाँकेको नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत उनको गएराति १२ बजे मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाबाट एक सय सात जनाको मृत्यु भएको छ। पछिल्लो १२ घन्टामा पाँच जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १२ पुगेको छ।
त्यस्तै, सोमबारसम्म कोरोना संक्रमितको संख्या २७ हजार एक सय ४१ रहेको थियो। आज विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या पनि थपिएको छ।