हिन्दु धर्म होइन, संस्कृति हो ! नेपाली समाजको प्रारंभिक इतिहासको खोजी – डा.मदन रिमाल

 

 

 

फेसबुक, ट्वीट र सामाजिक संजालमा नेपाल र यहाँको हिन्दु धर्मको ईतिहास सम्बन्धमा लेखिएका भ्रमपूर्ण लेख वा समाचारलाई नै पाठक–दर्शक र स्रोताहरुले लाइक वा सेयर गरेको देखिन्छ ।
त्यसो भए कस्तो थियो हाम्रो प्रारंभिक इतिहास ?

 

इतिहास–संस्कृति भनेर प्रकाशन–प्रसारणमा आएका कुरा कति भ्रम र कति वास्तविक हुन् ?
नेपाली समाज–धर्म–संस्कृतिवारे अहिलेसम्म थाहा पाइएका सत्य–तथ्य सामाजिक संजालका प्रयोगकर्ताहरुलाई विषयविदहरुले जानकारी गराउनु अत्यावश्क भैसकेको छ । त्यसैका लागि संक्षिप्त जानकारी दिन यो लेख तयार पारिएको हो ।

 

हिन्दु शब्द धर्म होइन !

हिन्दु शव्द धर्म (रिलिजन) होइन । यो शव्दले संस्कृतिलाई जनाउछ । पर्सीयालीहरुले पाँचौं शताव्दी इसापूर्व ताका सिन्धु नदी पश्चिमको भूभागमा शासन गरेका थिए ।
उनीहरु “स“ लाई “ह“ उच्चारण गर्दथे ।

स को सट्टा ह उच्चारण गरेपछि सिन्धु, सप्ता, असुरलाई क्रमश हिन्दु, हप्ता र अहुर आदि । उनीहरु सिन्धु नदीदेखि पूर्व बङ्गालको खाडी सम्मको मानव संस्कृति, समाज, धर्म आदिलाई सिन्धुपूर्वको भनेर हिन्दु भनी सम्बोधन गर्दथे ।

नेपालको ईतिहासमा यस्तो संस्कृतिका मानिसहरु आज भन्दा लगभग तीन हजार वर्ष पहिले प्रवेश गरेको देखिन्छ । उनीहरुले काठमाडौंमा गोपाल र महिषपाल वंशीको रुपमा शासन गरे ।
उनीहरु पछि यस क्षेत्रमा किरातेश्वर शिवका उपाशक किरात वंशी ३०–३२ राजाहरुले शासन गरे । लगभग दुई हजार वर्ष अघि यहाँ लिच्छवी राजाहरुले शासन गरेका थिए ।

 

प्रामाणिक इतिहास

 

नेपालको प्रामाणिक इतिहास लिच्छवि राजा मानदेवदेखि शुरु हुन्छ ।
चाँगुनाराणमा पाइएको अभिलेख (इस्वी ४६४) बाट त्यस समयमै नेपाली समाजमा हिन्दु संस्कृति अनुरुपको वर्ण व्यवस्था कायम भएको जानकारी पाईन्छ ।

लगभग ८–९ सय वर्ष सम्म शासन गर्ने लिच्छवी राजाहरुका लगभग २५० भन्दा बढी अभिलेख प्राप्त छन । ती अभिलेखहरु अनुसार लिच्छविकालिन नेपालमा वर्ण व्यवस्थामा आधारित ४ वर्ण बाहेक १८ अन्य जातजातिका समाज पनि थिए ।

त्यो समयमा नेपाली समाजमा बौद्ध धर्म पनि निकै लोकप्रिय थियो । तसर्थ हिन्दु संस्कृतिमा आधारित नेपाली समाजको प्रामाणिक इतिहास दुई हजार वर्ष भन्दा पुरानो छ ।
उदाहरणको रुपमा चाँगु, बालाजु बुढानिलकण्ठ, शोभा भगवती, नक्साल भगवती, उमा–महेश्वर आदिका मूर्तिहरु र लिच्छवी राजाहरुको अभिलेखमा उल्लेखित वर्णनहरुलाई लिन सकिन्छ ।

 

खस जाती होइन

 

अहिले केही विद्वानहरु हिन्दु संस्कृतिलाई हिन्दु धर्मको रुपमा खसहरुले नेपालमा भित्राएको कुरा लेख्ने गर्दछन् ।

 

माथि गरिएको वर्णनवाट खश एक जाति हो भन्ने कुरा स्वतः गलत ठहरिन्छ । यो जातिले इसपूर्व २००० तिर क्यास्पियन सागरतिरबाट आएर लगभग १७००–१५०० इसापूर्व बेबिलोनियामा शासन गथ्र्यो ।
इसापूर्व ५०० तिर यिनको राज्य नष्ट भए पछि यिनीहरु पूर्व तर्फ सिन्धु नदी उपत्यका हुँदै काश्मीर तथा कुमाउँ–गढवाल क्षेत्रमा शासकको रुपमा देखा पर्दछन् ।

 

नेपालमा लिच्छवि शासन हुँदा यिनीहरु इस्वी ५०० तिर कुमाउँवाट पश्चिम नेपाल आएको थाहा हुन्छ । त्यस समय सम्म यिनीहरु प्राचीन आर्यसँगको समिश्रणवाट खश–आर्य भैसकेका हुन्छन् ।

 

 

राजा नागराज

 

काठमाडौंमा लिच्छवि शासनको अन्त र राजनीतिक अस्थिरता भएकोले यहाँका शासकको ध्यान पश्चिम नेपालतर्फ जान सकेको थिएन । तसर्थ, इस्वीको १२०० तिर प्रशिद्ध खश राजा नागराजले कर्णाली प्रदेशमा खश राज्य कायम गरे ।

 

यिनी आफु बौद्ध धर्मका अनुयायी भएता पनि हिन्दु संस्कृतिका देवदेवीलाई सम्मान गर्दथे । यिनी र यिनका वँशजले बौद्ध धर्म मानेता पनि पछि सम्म पनि यिनी भने धर्म र राजनीतिलाई अलग्गै मान्ने गर्दथे ।

 

खसपूर्व नै हिन्दू

 

यसप्रकार खशहरुले मात्र नेपालमा हिन्दु संस्कृति र धर्म भित्राए भन्नु पनि गलत हो । उनीहरु १२०० इस्वी तिर मात्र नेपाल पसेका हुन् ।

 

जबकि उनीहरु आउनु भन्दा २००० वर्ष अघिनै नेपालमा हिन्दु संस्कृति देखा परिसकेको देखिन्छ । प्रामाणिक श्रोतलाई मान्ने हो भने पनि इस्वीको ५०० वर्ष तिर हिन्दु संस्कृतिको जग निकै बलियो भै सकेको बुझिन्छ ।

 

यदि हिन्दु संस्कृति उनीहरुले भित्राए भन्ने मान्ने हो भने बौद्ध धर्म पनि उनीहरुले नै भित्राए भन्नु पर्ने हुन्छ । उनीहरुको हिन्दु संस्कृति र बौद्ध धर्मको बिकासमा महत्वपूर्ण योगदान अवश्य रहेको छ ।
मात्र पछिल्लो समय आएका खश राजा मानिएका पृथ्वीनारायण शाह र तिनका वँशजको रिसले वा उनीहरुसंग आएका खश( आर्य) समुदायको रिसले नेपालको सांस्कृतिक ईतिहासलाई गलत ढंगले प्रस्तुत गर्नु सांस्कृतिक अपराध हो ।

 

लगभग तीन हजार वर्ष अघि संचार, यातायातको विकास नभएको र अत्यधिक चिसो मौसम भएको कारणले काठमाडौं उपत्यका निकै विकट क्षेत्र मानिन्थ्यो ।
पाषाण युगका स–साना मानव समुह यस ठाउमा कहिलेकाही मात्र विचरण गर्ने गर्दथे ।

 

 

गोपाल र महिषपाल

 

लगभग तीन हजार वर्ष तिर पशुपालनमा निर्भर समाजको निर्माण गरेर गोपाल र महिषपाल समुदायका मानिसले काठमाडौं उपत्यकामा समाज र संस्कृतिको प्रारम्भिक जग हालेका थिए ।
नामको आधारमा उनीहरु हिन्दु आर्य सांस्कृतिक समुहका थिए भन्ने बुझिन्छ । उनीद्वारा नै पशुपतीनाथको स्थापना भएको थियो, लगभग २ हजार ७ सय वर्ष अघि ।

 

प्रकृति निर्भर कृषिको सामान्य ज्ञान भएका किरात समुदायका मानिसहरुले उपत्यकाको सामाज र संस्कृतिको विकास निर्माणमा लगभग ८ सय वर्ष सम्म योगदान दिएका थिए ।
ऊनबाट बनेका राडी पाखी जस्ता सामानका साथै हिमाल, पहाड तथा तराईका जङ्गलबाट प्राप्त सामग्री तथा जडिबुटीको व्यापार भारतीय मैदानी राज्यहरुमा गरेर उनीहरुले सम्पन्न नेपाली समाजको निर्माण गरे ।

 

उनीहरुद्वारा निर्मित ऊनका कम्बल उत्कृष्ट थिए भन्ने चौथो शताव्दी इस्वी पूर्वका कौटिल्यले पनि आफ्नो अर्थशास्त्रमा उल्लेख गरेका छन ।

 

हिमाल, पहाड र तराई

 

काठमाडौं उपत्यकावाट प्रारम्भ भएको समाज र संस्कृतिले त्यस समय हिमाल, पहाड र तराइका घना जङ्गल भित्र रहेको समाजलाई नेपाली समाज र संस्कृतिको स्वरुप दियो ।
कृषि पशुपालन तथा व्यापारको समिश्रणवाट संगठित नेपाली समाजलाई किरातहरुले सर्वप्रथम नेपाल देश वा राष्ट्रको रुपमा पहिचान दिलाए ।

 

यो देशको समाज र संस्कृतिको निर्माणमा सम्भवत त्यसै समयदेखि प्राचीन मिथिला, कपिलवस्तु, तिब्बत र मङगोलियामा विकसित मानव समाज र संस्कृतिको योगदान हुन थाल्यो ।
त्यस समयदेखि नै विभिन्न मानव समुदायका समाज र संस्कृति सम्मिलित नेपाल देशले सांस्कृतिक पूर्णता पायो । हिन्दु संस्कृति अनुरुपको सामाजिक सङगठनका चार वर्ण तथा त्यस बाहेकका अन्य समुदायका सामाजिक संगठन गरी दुई थरिका समुदाय सौहाद्रपूर्ण बातावरणमा बसेका थिए ।

 

समाजमा हिन्दु संस्कृति तथा बौद्ध धर्म अनुरुपको धार्मिक आस्था र विश्वास कायम थियो । केहि समूहहरु आफ्नै परम्परागत धर्म तथा आस्था अनुसारका क्रियाकलाप गर्ने गर्दथे ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक समिश्रणको फलस्वरुप पशुपति ,चाँगु, स्वयम्भु, बौद्ध जस्ता मन्दिर, विहार तथा गुम्बा आदि स्मारकहरु स्थापित भए ।
त्यसै समयदेखि बिभिन्न धर्म, आस्था, परम्पराको समिश्रण अनुरुपको रितीरिवाज , चाडपर्व, तीर्थ, जात्राहरु संयुक्त रुपमा मनाउने संस्कृतिको विकासले प्रारम्भिक नेपाली संस्कृति र समाज अन्य ठाउँका संस्कृति तथा समाज भन्दा भिन्न स्वरुपमा विकसित हुन थाल्यो ।

 

प्राचिन समाजको इतिहास

 

नेपालको प्राचिन समाजको इतिहास तर्फ एक दृष्टि दिने हो भने इस्वीको दोस्रो शताव्दीदेखि नबौ शताव्दीसम्मको इतिहासलाई नेपालको प्राचिन वा लिच्छवि कालिन इतिहास भनिन्छ ।
प्राचिन भारतमा काठमाडौं उपत्यका अति विकट र चिसो बातावरण भएको ठाउ थियो । पहाड र जङ्गलले गर्दा यो सुरक्षित स्थल पनि मानिन्थ्यो ।
इस्वीको प्रथम शताव्दी तिर विभिन्न कारणले प्राचीन भारतवाट विस्थापित वा पलायन भएर लिच्छवि, गुप्त, वर्मा, मल्ल आदि राजवंशका मानिसहरु काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा शरण लिन आउथे ।

 

यी राजवंशहरु मध्ये मल्लले मध्य पच्छिम नेपालमा शरण लिइ त्यस क्षेत्रमा इस्वीको पाचौ शताव्दी तिर राज्यको स्थापना नै गरे ।
काठमाडौं उपत्यकामा प्रारम्भमा वर्मा तथा लिच्छविहरु शासन सन्चालनमा सक्रिय भए । लिच्छवि वंशीले किरात वंशी राजालाई जिती नेपालको शासन सन्चालन गर्न थाले ।
प्रसिद्ध लिच्छवि राजा मानदेवको इस्वी ४६४ को चाँगुको अभिलेखदेखि नेपालको प्रमाणिक इतिहास प्रारम्भ हुन्छ ।

 

 

 

 

लिच्छवि राजा तथा उनीहरुसँग आएका मनिसका समूहले उपत्यकाका वासिन्दाहरुलाई प्रकृतिमा निर्भर नभइ कुलोद्वारा पानी ल्याइ सिँचाइ गर्न सिकाए ।
नयाँ प्रबिधिले कृषि तथा पशुपालन कर्मलाई उपत्यकामा व्यापक रुप दियो । विरामी मानिसका लागि आरोग्यशाला तथा पशु औषधालयको समेत स्थापना गरियो ।

 

घर वा टोल नजीक ढुङ्गे धाराद्वारा खानेपानी उपलब्ध गराइयो । पांचालीको माध्यमवाट गाउँहरु सङगठित पार्न थालियो । सामाजिक तथा धार्मिक कार्य गर्न स्थानीय वा सम्बन्धित समुदायको सहभागितामा गोष्ठि ( गुठी ) नामक संस्था गठन गरी अक्षय कोष राख्ने प्रचलनले व्यापकता पायो ।
दक्षिणतर्फ भारतका बिभिन्न राज्यहरुसँग सम्बन्ध गाँसेर उत्तरापथ राजमार्गवाट व्यापार विस्तार गरियो ।
उत्तरमा तिब्बतसँग सम्बन्ध गाँसेर प्रसिद्ध रेशम मार्गवाट व्यापार विस्तार गरियो ।
घरेलु उद्योगको स्थापना गरी तामा, फलामका सामाग्रीहरु, ऊनका कम्बल, लुगा, चँवर, जडिबुटी तथा कस्तुरी आदिको निर्यातद्वारा नेपाली समाजलाई समृद्ध बनाइयो ।
आर्थिक उन्नतिले गर्दा आफ्नै मुद्राको आवश्यकता महसुस गरी राजा मानदेवले सर्वप्रथम तामाका नेपाली मुद्रा श्रीमानांक प्रचलनमा ल्याए ।

 

त्यसपछि अनेकौ लिच्छवि राजाहरुले मुद्रा प्रचलनलाई निरन्तरता दिए । धार्मिक मठ, मन्दिर, विहार, गुम्बा आदि स्थल अध्ययन अध्यापनका केन्द्र भए ।
नविनशैलीका कला, वास्तुकलाले उपत्यकालाई सिँगारियो । प्राप्त उपदब्धिलाई सुरक्षा गर्न सैनिक क्षमता पनि सुदृढ पार्न थालियो ।