मुगुमा खाद्यान्न गोदाम रित्तिए पछि सर्वसाधारण खाली हात फर्कदै

मुगु, ७ भदौ : सदरमुकाम गमगढी स्थित खाध्य व्यवस्था तथा व्यापार कम्पनी लि. मुगुको गोदाममा खाद्यान्नको मौज्दात न्युन भए पछि सर्व साधारणहरु खालि हात घर फर्किन बाध्य भएका छन् ।
कोभिड १९ का कारण विश्व नै असहज परिस्थितिको मारमा परेका बेला लामो लकडाउन र वाढी पैरोले सडक यातायात नियमित नभएकाले ९ बर्ष पछि मुगुमा खाद्य गोदाम रित्तिएको छ ।
कठिन भुगोल प्रतिकुल मौसमका कारण स्थानिय उत्पादनले ६ महिना भन्दा बढी धान्न नसक्ने भए पछि मुगाली जनता आयातित खाद्यान्नमा निर्भर हुदै आएका छन् ।
बजारको भन्दा खाद्य संस्थानको मुल्य केहि सस्तो हुने भएकाले निम्न आय भएका सर्वसाधारणहरु संस्थानको खाद्यान्न नै खरिद गर्ने गर्दछन ।
सडक पुगेर खाद्यान्न समस्या केहि सहज भए पछि मुगालीले केहि बर्ष यता राहत महसुस गरेका थिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनिको गोदाम र बजारमा समेत चामल अभाव भए पछि रित्तो हात घर फर्किनु पर्दा कोरोना महामारी भन्दा भोकमरी बाट परिवार बचाउन कठिन हुने भयो भन्दै छायानाथ रारा नगरपालिका –३, निवासी सिंहरुप रोकाया दुखेसो गर्छन् ।
लामो लकडाउनले स्वदेश तथा विदेशमा भएका अधिकाँश मानिसहरु घर फर्केकाले पनि खाद्यान्नको माग बढेको छ ।
गत आर्थिक बर्षमा मुगु जिल्लाका लागि प्राप्त भएको करिव १८ हजार ३ सय क्विन्टल खाद्यान्न मध्ये सोरुकोट, पुलु र श्रीकोट डिपो तथा कालै र रातापानी बिक्रि केन्द्रमा शुन्य मौज्दात छ भने सदरमुकाम स्थित गमगढी शाखामा आपतकालिन अवस्थाकालागि ५ सय क्विन्टल खाद्यान्न मौज्दात राखिएको शाखा प्रमुख कर्णबहादुर रावल बताउनु हुन्छ ।
तत्कालै खाद्यान्न आपुर्ति नगर्ने हो भने मुगुवासीले चर्को भोकमरीको सामना गर्नु पर्ने सम्भावना देखिएपछि सम्बन्धित निकायले यथाशिघ्र आपुर्ति गर्न मुगुवासीले माग गरेका छन् ।
कविराज कार्की / मुगु ।