पछिल्लो २४ घन्टामा कोरोनाबाट आठ जनाको मृत्यु

काठमाडौं, ११ भदौ : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा आठ जनाले ज्यान गुमाएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयहरुका अनुसार, पर्सा र कपिलवस्तुमा दुईदुई, कास्की, बारा, बाँके र ललितपुरमा एकएक गरि आठ जनाले ज्यान गुमाएका हुन्।

बिहीबार बिहान वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत बाराको हर्दियाकी २३ वर्षीया गर्भवतीको मृत्यु भएको छ। उनी सात महिनाकी भर्गवती थिइन्। वीरगन्जमै पर्सामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, पर्साका अनुसार वीरगन्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय र धोबनी गाउँपालिका–३ गुलरियाका ७२ वर्षीय पुरुषका मृत्यु भएको हो।

त्यस्तै, कपिलवस्तुमा आज बिहान ५० वर्षीय पुरुषको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो। कपिलवस्तकै लुम्बिनी प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी गरिएको एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो। उनलाई साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो। कोस्कीको पोखरामा ३२ वर्षीया युवतीको कोरोनाबाट ज्यान गएको छ। पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत युवतीको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए। पोखरा महानगरपालिका–११ की उनी भदौ ७ गते अस्पताल भर्ना भएकी थिइन्।

यसैगरि बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–७, की ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो। छातीमा समस्या आएपछि भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगेकी उनमा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै, ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु गएराति भएको छ। भदौ ७ गते अस्पताल भर्ना भएका उनलाई भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। अर्घाखाँचीका वासिन्दा उनी केही समयदेखि काठमाडौंको तारकेश्वर नगरपालिका–११ मा बस्दै आएका थिए। उनको छातीमा संक्रमण र निमोनिया भएको थियो।