कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु
लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पताल, बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको आज बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उहाँका अनुसार उनलाई यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उनलाई उच्च रक्तचाप रहेकाले अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर शुरुदेखि नै भेन्टिलेटरमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको जनाइएको छ । यससँंगै कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये २४ घण्टाभित्र तीन जनाको मृत्यु भएको छ । यसअघि बुधबार राति कपिलवस्तुका पुरुषको र बिहीबार बिहान तिलोत्तमा नगरपालिका –२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको थियो । यससँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने आठ जना पुगेका छन् । – रासस