पाकिस्तान र इंग्ल्याण्डबीचको टी–२० सिरिज बराबरी

एजेन्सी, १७ भाद्र : पाकिस्तानले तेस्रो टी–२० क्रिकेटको अन्तिम खेलमा इंग्ल्याण्डलाई ५ रनले हराएको छ। योसँगै पाकिस्तान र इंग्ल्याण्डबीचको सिरिज १–१ को बराबरीमा सकिएको छ।

पहिलो टी–२० खेल वर्षाका कारण नतिजा बिहीन बनेको थियो। दोस्रो खेलमा इंग्ल्याण्डले विजयी भएको थियो। म्यानचेष्टरमा मंगलबार राति भएको तेस्रो खेलमा पाकिस्तानका मोहम्मद हाफिज र हैदर अलीले उत्कृष्ट खेल प्रदर्शन गरे।

पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो। इंग्ल्याण्डका लागि मोइन अलीले सर्वाधिक ६१ रन बनाए। टम बेन्टनले ४६न र साम बिलिङ्सले २६ रन बनाए।

बलिङतर्फ पाकिस्तानका साहिन साह अफ्रीदी र वाहब रियाजले दुई दुई तथा इमाद वसिम र हरिस राउफले एक एक विकेट लिए।

यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद हफिजले अविजित ८६ तथा टी–२० मा डेब्यु गरेका हैदर अलीले ५४ रन बनाए। कप्तान बाबर आजमले २१ र सहाब खानले १५ रनको योगदान दिए।

बलिङतर्फ इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २ र मोइन अलीले १ विकेट लिए। यसअघि टेष्ट सिरिज इंग्ल्याण्डले जितेको थियो।

इंग्ल्याण्डले अब सेप्टेम्बर शुक्रबारदेखि अष्ट्रेलियासित टी–२० सिरिज खेल्नेछ।